दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्सले बुटवल बलास्टरलाई १४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो ।
पोखरा रंगशालमा काठमाडौंको पहिलो विकेटको रुपमा सुवास खकुरेल १५ रन बनाउँदै आउट भए । काठमाडौंका लागि दोस्रो विकेटका रुपमा गौरव तोमर आउट भए । उनी १ रन बनाएर रन आउट भएका हुन् ।
जयकिशान कोल्सावाला काठमाडौंको तेस्रो विकेटको रुपमा आउट भएका थिए । उनलाई हरि बहादुर चौहानले क्याच आउट गराएका थिए ।
काठमाडौंका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल १५ रन बनाएर आउट भए । उनलाई नितेश थापाले १३ ओभरको चौथो बलमा क्याच आउट गरेका थिए । त्यस्तै नितेशले नै १३ ओभरको अन्तिम बलमा सुभोद भाटीलाई क्याच आउट गराए ।
काठमाडौंका आदिल खान पाँचौ विकेटको रुपमा २३ रन बनाएर आउट भए । उनलाई अविनाश बोहोराले १४ ओभरको पाँचौ बलमा क्याच आउट गराएका हुन् । काठमाडौंका लागि पवन सरार्फले नट आउट ३७ रन बनाए । त्यस्तै अमर राउटेलाले १४ रनको योगदान गरे ।
पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको काठमाडौंलाई आजको खेलमा जित निकाल्नै पर्ने दवाव छ । यता बुटवल प्रतियोगिताको पहिलो खेलमा सुखद सुरुआत गर्ने योजनामा छ ।