कुस्तीमा स्वर्ण जितेकी संगीतालाई गृहनगर कञ्चनपुरमा सम्मान

कुस्तीमा स्वर्ण जितेकी संगीतालाई गृहनगर कञ्चनपुरमा सम्मान

कञ्चनपुर : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई भीमदत्तनगरमा भव्य स्वागत गरिएको छ । भीमदत्त नगरपालिका–३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन् । 

नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बंगलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी थिइन् ।भीमदत्त नगरपालिका कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा भीमदत्तनगर बजारमा विजय र्‍याली निकालेको थियो । बजार परिक्रमापछि र्‍याली वडा कार्यालय पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५२५ नगद समेत प्रदान गरेका छन् । कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष जप्रेलसहित वडा नं ७ का अध्यक्ष शंंकर कुँबर, धामीकी आमा धनादेबी धामीसहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक र्‍यालीमा सहभागी भएका थिए । वडा अध्यक्ष जप्रेलसहितले धामीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।