स्वस्थ रहन पनि छुट्टी मनाउनैपर्छ !

स्वस्थ रहन पनि छुट्टी मनाउनैपर्छ !

पछिल्लो समय मानिसहरुमा छुट्टी मनाउने प्रवृति बढ्दै गएको छ । स्वास्थ्यबारे सचेत हँुदै जाँदा मानिसले बिदाको महत्व पनि बुझिरहेका छन् जसकारण फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा बिदाका तस्बिर सबैभन्दा धेरै देखिन्छन् ।

विशेषगरी केही हप्ता लामो आरामदायी छुट्टीले तनाव, थकान मेटाउनुका साथै हामीलाई शारीरिक रुपमा पनि स्वस्थ राख्न सक्छ । तर सबै देशमा तलब सहितको छुट्टै दिइँदैन भने कतिपयमा चाहिँ अनिवार्य रुपमा बिदा बसेर घुम्न जान लगाइन्छ । 

जस्तै अमेरिकी कामदारहरुकै कुरा गनु पर्दा त्यहाँ तलब सहितको छुट्टीको कुनै प्रावधान छैन र वर्षमा १० दिन दिइएको बिदा समेत उनीहरुले पूरै उपयोग गर्न पाउँदैनन् । यसरी अमेरिका सहित टोङ्गा, पलाउ, माइक्रोनेशिया लगायतका देशमा छुट्टी मनाउन कुनै बिदा दिइँदैन भने चीन, फिलिपिन्स र नाइजेरियामा चाहिँ पाँच दिन छुट्याइएको छ ।

विशेषगरी चीनमा पाँच दिन लामो छुट्टीले देशको यातायात सेवा नै अस्तव्यस्त पारिदिने गरेको छ । यसरी अनिवार्य रुपमा सबैभन्दा धेरै छुट्टी दिने देशमा चाहिँ कुवेत पर्दछ जसले कामदारलाई एकैपटक ३० दिनसम्म तलब नकाटि बिदा दिने गरेको छ । यता बेलायतमा पनि २८ दिन छुट्टीको प्रावधान रहेको छ भने अष्ट्रिया, फ्रान्स, पोल्यान्ड, फिन्ल्यान्ड, डेनमार्क, लक्जेम्बर्गका कर्मचारीले पनि २५ दिन तलब सहितको बिदा लिन पाउँछन् ।

त्यस्तै अष्ट्रेलिया र न्युजिल्यान्ड पनि बिदाको विषयमा उदारवादी देश मानिन्छन् जहाँ सबै श्रमिकहरुले २० दिनसम्मको छुट्टी लिन सक्छन् । यसरी सार्वजानिक बिदा बिना यी देशहरुले त्यति छुट्टी दिने गरेका हुन् । 

तर अमेरिकामा भने विशेष रुपमा कर्मचारीका लागि बिदा छुट्याइएको छैन र यो रोजगारदातामा निर्भर हुन्छ । यसरी व्यस्तताका कारण पनि अमेरिकामा परम्परागत समयदेखि छुट्टी लिने चलन नरहेको बताइएको छ ।

१९९२ ‘फ्रामिङटन हर्ट स्टडी’ ले २० वर्षदेखि कामदारहरुमाथि अध्ययन गर्दा छुट्टी नलिने पुरुषलाई ह्दयघात हुने सम्भावना ३० प्रतिशत रहेको पत्ता लगाएको हो । अझ महिलाहरुमा त ५० प्रतिशत खतरा रहेको बताइएको छ ।

यी तथ्याङ्क स्वास्थ्य सम्बन्धी अन्य समस्या जस्तै मधुमेह, धुम्रपानको लत, मोटोपना, अल्छिपना लगायतमा पनि लागू हुने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

यसरी हाम्रो शरीरले तनावग्रस्त जीवनशैलीको प्रभावमा नकारात्मक प्रतिक्रिया जनाउने स्पष्ट भएकाले पनि छुट्टी मनाउनु शारीरिक स्वास्थ्यका लागि अति आवश्यक मानिएको एलिन एकरले न्युयोर्क टाइम्ससँग बताइन् जो यस अध्ययनकी लेखिका हुन् ।

बिदा बस्नुले मानिसक रुपमा राहत दिलाउने हुँदा फ्रेश भएर बिदाबाट फर्किनुले कार्यालयलाई पनि फाइदा नै पुग्ने बताइएको छ ।

किनकी बिदा नबसी लगातार काम गर्नेहरुमा उत्पादन क्षमताको कमी हुनुका साथै तनावमा रहिरहने र हरेक क्षण चिन्ता लिइरहने समस्या हुन्छ जसले निश्चित रुपमा राम्रो नतिजा ल्याउँदैन । यसकारण पनि पश्चिमी युरोपेली कामदारहरुले उत्पादकत्व बढाउनकै लागि धेरै बिदा दिने गरेका छन् ।