भारतीय कांग्रेसले सुरू गर्‍यो ‘भारत बचाऊ’ र्‍याली

भारतीय कांग्रेसले सुरू गर्‍यो ‘भारत बचाऊ’ र्‍याली

भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले भारत बचाऊ र्‍याली सुरू गरेको छ । शनिबार कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको 'विभाजनकारी' र 'विघटनकारी' नीतिको विरोध गर्दै दिल्लीस्थित रमिला मैदानमा भारत बचाऊ र्‍याली सुरू गरेको हो ।

उक्त र्‍यालीलाई पार्टी प्रमुख सोनिया गान्धि, पार्टी पूर्वअध्यक्ष राहुल गान्धि र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले सम्बोधन गर्नेछन् । पार्टी वरिष्ठ नेताहरुले भारतीय जनता पार्टी नेतृत्वको सरकार असफल भएको र उनीहरुले मुलुकलाई विभाजनतर्फ लैजान खोजेको विषयलाई उठाउने बताइएको छ । 

"हामी बीजेपी सरकारलाई भारतीय जनताको जीवनशैलीमा कुनै सुधार गर्न नसक्दा असफल भएको भन्‍ने बलियो सन्देश प्रवाह गर्न चाहन्छौं," कांग्रेस नेता अजय सिंह यादवले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै भने, "वास्तविक समस्या - बेरोजगारीको समस्या समाधान,उद्योग कलकारखाना स्थापना, आर्थिक वृद्धिदरजस्ता मुद्दालाई सम्बोधन गर्नुको साटो नागरिकता संशोधन विधेयक, धारा ३७०को खारेजीजस्ता विखण्डन ल्याउने मुद्दातर्फ ध्यान दिइरहेको छ ।" 

भारतीय कांग्रेस दिल्लीका सभापति सुबास चोपडाले ५० हजारभन्दा मानिस उक्त र्‍यालीमा सहभागी हुने बताएका छन् । उनले भने, "हामीले भारतलाई विखण्डन हुनबाट जोगाउन पहल गर्नुपर्ने बेला आएको भन्‍ने सन्देश विश्वभर फैलाउन यो र्‍याली गर्न लागेका हौं ।"