बाजुराका उच्च हिमाली भेगमा हिमपात, बेसीतिर वर्षा

बाजुराका उच्च हिमाली भेगमा हिमपात, बेसीतिर वर्षा

बाजुरा : बाजुरा जिल्लाका उच्च हिमाली भेगमा हिमापात सुरु भएको छ भने बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ। बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको बडिमालिका नगरपालिका २ का किसान बीरबहादुर महत्तले बताए ।

कार्तिकमै लगाउनुपर्ने गहुबाली लामो समयसम्म पानी नपर्दा लगाउन पाएका थिएनौं, ढिलोगरी पानी आएपनि केही राहत भएको उनले बताए । 'पानी नआउने भएपछि केही खेतमा बीउ मात्र छर्केका थियो । अब पानी आयो, बीउ उम्रिन्छ,' अर्का किसान गौमुल गाउँपालिका ६ का प्रेम बिकले बताए।
 
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुगेको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रशाद जैशीले बताएका छन् ।

गएका वर्षको तुलनामा यो वर्ष हिमालमा हिँउ छिटो परेको स्थानीय बताए।  बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यो वर्ष मंसिरमै सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भेगमा हिमपात भएपछि वस्तुभाउ घाँसको समेत समस्या भएको स्थानीयले बताए।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन क्षेत्रका केही विद्यालयमा अत्याधिक चिसोका करण विद्यार्थी अनुपस्थित हुने गरेको बडिमालिका नगरपालिका ७ का वडा अभ्यक्ष धर्मराज पाध्यायले जानकारी दिए।

हिमपालतका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपालत हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा बन्द भएको छ। सेवा बन्दा हुँदा यात्रुहरु सदरमुकामक मार्तडीमा अलपत्र परेका छन् ।
 
बिहीबार दिउँसोदेखि मौसम बदली भई रातीदेखि उच्च हिमाली भेगमा हिउँ र बेसीतिर पानी पर्न थालेको हो।आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद‍्ले बताएका छन्।