अक्सिजन प्लान्ट खरीद सम्बन्धी कागजपत्र अख्तियारले नियन्त्रणमा लियो

अक्सिजन प्लान्ट खरीद सम्बन्धी कागजपत्र अख्तियारले नियन्त्रणमा लियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास मन्त्रालयले गत आर्थिक बर्षमा खरीद गरेको अक्सिजन प्लान्टको खरीद प्रक्रियाका सम्पूर्ण कागजपत्रहरु कब्जामा लिएको छ । 

मन्त्रालयले गत आर्थिक बर्षमा सेती प्रादेशिक अस्पतालका लागि खरीद गरेको अक्सिजन प्लान्टको खरीदमा अनियमितताको आशंकामा खरीद प्रक्रियाका सम्पूर्ण कागजपत्रहरु अख्तियारले कब्जामा लिएको हो । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले अख्तियारको महेन्द्रनगर स्थित कार्यालयले अक्सिजन प्लान्ट खरीद सम्बन्धी प्रक्रियाका कागजपत्रहरु लिएको पुष्टि गर्नुभयो । मन्त्रालयले गत आर्थिक बर्ष गरेका सम्पूर्ण खरीदहरुमा आर्थिक अनियमितताको आरोप सहित अख्तियारमा उजुरी परेका छन् । 

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका अनुसार सामाजिक विकास मन्त्रालयको गत आर्थिक बर्षको खरीद मध्येको अक्सिजन प्लान्ट, एम्बुलेन्स र निशुल्क उपलब्ध गराउनुपर्ने आौषधी खरीद सम्बन्धी छानवीनको माग गर्दै मन्त्रालयकै कर्मचारीहरुबाट बेनामे उजुरी परेका छन् । सबै उजुरीमा उजुरीकर्ताको नाम उल्लेख नगरी भ्रष्टाचार बिरुद्ध रहेको मन्त्रालयमै कार्यरत एक कर्मचारी भनिएको छ । 

सस्तो मुल्यमा आपु्र्ति गर्ने भन्दै टेण्डर हालेका ब्यवसायीहरु स्वार्थकै कारण बिभिन्न बहानामा पन्छाई कमिसन दिने लाई मात्रै आपुर्ति गर्ने गरी ब्यवस्था मिलाइएकोले सो खरीद प्रक्रियामा रहेका मन्त्रालयका तत्कालीन प्रदेश सचिव गोगन बहादुर हमाल, लेखा अधिकृत कृष्ण धामी सहितका खरीद समितिका सदस्यहरु माथि कार्वाहीको माग गरिएको छ । 
यस्तै सामाजिक विकास मन्त्रालयले आफ्नै अगुवाई सुदूरपश्चिम प्रदेशका बिभिन्न स्थानमा आयोजना गरेका स्वास्थ्य शिबिरहरुमा भएको खर्च बारे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन शुरु गरेको छ । यस सम्बन्धमा पनि उजुरी परेको छ । निशुल्क स्वास्थ्य शिबिरका लागि औषधीहरु खरीद गर्दा भ्रष्टाचार गरिएको र शिबिरमा उपचार गर्न आएका मानिसहरुको संख्या बढाएर समेत सरकारलाई आर्थिक क्षति पु¥याउने काम भएको भन्दै उजरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले जानकारी दिएको छ ।