देशभर पश्चिमी वायुको प्रभाव, सर्तकता अपनाउन आग्रह

देशभर पश्चिमी वायुको प्रभाव, सर्तकता अपनाउन आग्रह

मौसम पुर्वानुमान शाखाले पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आउने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ । विशेष वुलेटिन प्रकाशन गर्दै मौसम पुर्वानुमान शाखाले यस्तो आग्रह गरेको छ ।  इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु–कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको  छ ।  

सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल देखिएको छ भने चिसो  बढेको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युनचापीय प्रणाली प्रवेश भएकाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ। 

‘यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।  उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ।