"युवाहरुले सोच्ने बेला आयो कि !"

"युवाहरुले सोच्ने बेला आयो कि !"

एक जना व्याक्ती केही महिना अघि देखि मलाई आफ्नो आफन्तको लागि जागिर खोजी दिन अनुरोध गर्दै थिए। "सधैं मम्मी_बुवाको पैसाले पढ्न गार्हो भयो तर उसलाई पढ्न निकै इच्छा छ" ती युवकले भने! उनी एउटा विद्यार्थी संगठनमा समेत आवद्ध रहेछन्।

उनले सँगै एउटा गुनासो पनि गरे, मैले म आबद्ध संगठनको लागि धेरै काम गरे, आफ्नो पढाइ छोडे, निजी काम छोडे, संगठनले दिएको सबै जिम्मेवारी पुरा गरे तर अहिले आफूलाई पर्दा जाबो एउटा जागिर समेत कसैले खोजी दिएन। म संग गुनासो गर्दै उनले भने मैले अब सबैलाई चिने! उनकै शब्दमा "अब म आफ्नो बाटो लाग्छु, पढ्छु, यी संगठनहरू कोही केही गर्नेवाला छैनन" आदि_इत्यादि गुनासो गरे।

ती मान्छेका सार्वजनिक अभिव्यक्ति, विचार सुन्दा लाग्थ्यो उनी साँच्चै आशालाग्दा नेतृत्व हुन, हुन सक्छन्। उनको लागि पार्टी भन्दा पनि देश पहिलो प्राथमिकता हो भन्ने विचार प्रायः राखिरहनथे। आवश्यक परेमा देशका लागि पार्टी भन्दा माथि उठेर काम गर्नेछु भनेर पटक_पटक भनेको मलाई याद छ। यति सम्म त मलाई ती मान्छे सामान्य जस्तै लाग्दै थिए।

किनभने चेतना भएको सबै व्यक्तिका लागि पार्टी भन्दा देश नै हो पहिलो प्राथमिकता र हुनु पनि पर्छ। मलाई अचम्म त त्यति बेला लाग्यो जब मैले यी सबै ( देश प्रेम र संगठन प्रतिको आक्रोश) गफ सुनिसके पछि एक दिन उनको फेस बुक स्टाटस देखें। त्यहाँ लेखेका शब्दहरूले त झन् मलाई हासो पनि उठ्यो।

उनले लेखेका कुराहरू भाव नबिग्रिने गरी म यहां उल्लेख गर्छु, "आज हाम्रो महान एबम् गौरवशाली,,,,,, संगठनका आदरणीय दाई सबैको आशा भरोसाका केन्द्र बिन्दु,,,,,,,ज्यूको प्रमुख आथित्यतामा,,,,,, कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथिको आसान बाट मन्तव्य राख्दै वहाले अब कुनै पनि बाहानामा कसैले पनि युवाहरुलाई ठग्न नहुने र युवाहरुको चाहाना बमोजिम आफू पनि विगत देखि लागिरहेको र अब पनि निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भएको छ।"

एक छिन लामो श्वास फेरे, पिपलको छहारीमुनी सुस्ताए, देशको चित्र कल्पना गरे, ती युवकको अनुहार सम्झना गरे अनि सुस्तरी बोले धन्य रहेछौ भाइ तिमी! देशमा रोजगारी चरम समस्याको रुपमा व्याप्त छ, युवाहरुको आकर्षण विदेश भएको छ। बर्षौ देखि युवाहरुको माग र समस्या एउटै छ, की रोजगारी सृजना गर, युवा पलायन रोक।

ती युवकले बेरोजगारी भोगे, संगठन भोगे, नेता भोगे राजनीतिक दलहरुले यस्तो विकृति ल्याएको भन्ने कुरा थाहा पाए, क्षणिक रुपमा संगठनमा लाग्दैन भन्ने निर्णय समेत गरे तर अन्तिममा आएर त्यही संगठन "महान" भयो। जुन राजनीतिक नेतृत्वले युवाहरुको यो हविगत बनाए, बर्षौ देखि युवाहरुको नाममा राजनीति गरे, संगठन चलाए, घर बनाए अन्तिममा त्यही नेता "विश्वास_पात्र" भनेर ब्रान्डिङ् भयो, युवाहरुको आशा भरोसाको केन्द्रबिन्दु भनेर प्रचारित गरिए।

आफू ठगिएको थाहा पाए तर जुन नेतृत्वले युवालाई ठग्यो त्यसै मान्छेले ठग्नु हुँदैन भन्दा हामी मख्ख पार्यौ। सेल्फी खिचेर फोटो सार्वजनिक गर्यौं। सायद यसैलाई भनिन्छ होला "राजनीतिक मायाजाल" अर्थात् "स्टकहोम_सिन्ड्रोम"। यस्ता कुराहरू हुन त हाम्रो लागि सामान्य जस्तै लाग्छन् तर यो सामान्य होइन। सामान्य किन पनि होइन भने हामी अहिले विज्ञान_प्रविधिले संसारमा चरम विकास गरेको छ तर हामीलाई त्यसले छुनै नसकेको अवस्थामा छौं।

दुनियाका धेरै देशहरूमा आर्थिक विकास चरम चुलीमा पुगिसकेको छ तर हामीले भने आर्थिक विकासको मोडेल कस्तो हुने भन्ने कुरा समेत टुंगो लगाउन सकेका छैनौं। संसारका कन्यौ शक्तिशाली देशहरूमा युवा प्रधानमन्त्री, युवा राष्ट्रपति बनिसके तर हामी भने युवाहरुलाई विदेश पठाएर युवाविहीन देश बनाउन आट्दै छौं। यी सबै हुनुको पछाडि अहिलेसम्मको राजनीतिक नेतृत्व नै जिम्मेवार हुनुपर्छ र वास्तविकता पनि यही हो।

अझै प्रष्ट शब्दमा भन्दा नालायक व्याक्ती नेतृत्वमा पुग्नुले हाम्रो अहिले यो दशा भएको हो भन्दा अतिशयोकतिपूर्ण नहोला। ती भाइलाई देखेर लाग्यो साँच्चै राजनीतिमा भएका थोरै युवाहरु पनि जानी_नजानी गलत बाटोमा जाँदै छन।

युवाहरुको राजनीतिक दलमा आबद्धता सायद केहीको सौखको विषय बनेको छ, केही पारिवारिक आस्थाको बाटो समाउँदै छन् त कोही साथीभाइको लहै_लहैमा लागेर राजनितीक दल छनोट गर्दै छन् जस्तो लाग्यो। यसको मतलब यो होइन कि सबै गलत गर्दै छन्, सबैको बाटो गलत छ अथवा सबै बर्बाद नै भइहाल्यो भन्ने चाहिं कदापि होइन।

आफूले समातेको बाटो भत्केको भए पनि मर्मत गर्न सकिन्छ। त्यो गर्नु पनि पर्छ। यति भनिसके पछि युवा साथीहरुलाई मेरा केही सुझाव छन्, कृपया अन्यथा नमानी मनन गरिदिनु होला। (1) राजनीति किन र के का लागि? :_ कक्षा_१२ मा पढ्ने एक जना अर्की बहिनी संग पनि हालै राजनीतिको बारेमा 1 घण्टा जति कुराकानी भयो।

कलास कमिटी गठन गर्न आउने जुन सुखै विद्यार्थी संगठनको पनि सदस्यता लिन उनी तयार थिइन्। तर जसरी पनि छिटो भन्दा छिटो राजनीति गर्छु र राजनीति बाट केही सकारात्मक थालनी गर्छु भन्ने उनको सोचाइ रहेछ। उनको अहिलेका सामाजिक क्रियाकलाप र सोच आश लाग्दा पनि छन्।

अनि मैले केही विद्यार्थी संगठनको नाम, ती संगठन प्रतिको उनको धारणा र समसामयिक राजनीति प्रतिको प्रतिक्रिया बुझ्न खोजें! उनी अवाक भईन्, सामान्य जानकारी पनि नरहेछ। अनि मैले बैनी तिमी राजनीति गर्ने राजनीति गर्न मात्रै हो कि साँच्चै देश परिवर्तन गर्छु भनेर हो? सोधे! उनले मेरो सपना हो_ राजनीति, म जसरी पनि राजनीति गर्छु भन्ने आशयको जवाफ दिइन्।

अघिल्लो पुस्ता वा अहिलेका पाका नेताहरुले जे_जसरी गरे पनि राजनीति गरे। त्यसैले 40 लाख युवा खाडीमा छन् तर अबका युवा पुस्ताले त्यसरी राजनीति गर्नु हुँदैन भन्ने मेरो मान्यता हो। यद्दपि राजनीतिलाई सिक्ने, बुझ्ने र बिस्तारै त्यसमा रुझ्दै जाने कुरा बेग्लै हो। त्यो हुन पनि सक्छ। किनभने मान्छे सुरुमै पूर्ण कोही हुँदैन, सिकाइ निरन्तरको प्रक्रिया हो।

राजनीति गर्छु भनेर राजनीतिमा लागिसके पछि कम्तीमा समसामायिक राजनीति प्रति आफ्नो धारणा, राजनीतिक दलहरुको सामान्य जानकारी र आफूले राजनीतिमा कसरी अगाडि बढ्ने भन्ने कुरा त ख्याल गर्नै पर्यो। नत्र फेरि उही पुरानो राजनीति हुन्छ। अहिलेको पुस्तालाई चाहिएको राजनितीक बाटो र राजनीतिक वातावरण सृजना हुनै सक्दैन। मैले यही समयमा मेरा एक जना मित्र संग कुरा गरे।

राजनीतिमा लागेको रहेछौ खुशी लाग्यो! अबको राजनीति हुनुपर्ने नैं हाम्रो हातमा हो मात्रै भनेको थिए उनले हत्त न पत्त जवाफ फर्काई हाले, मैले पार्टी_सार्टी रोजेर म संगठनमा लागेको होईन। कक्षा कोठामा दाइहरू आए, उनीहरूले उठाए, नाम लेखाए, जिम्मेवारी दिए अनि मैले लिए भनेर भनी हाले। यो पनि खासै ठीक भएन जस्तो लाग्यो।

कुरो फेरि उही घुमेर आउँछ, राजनीति किन र के का लागि गर्ने त्यो प्रस्ट हुनुपर्छ। नत्र हामीले लिएको ठाउँमा अरु कोही योग्य व्यक्ति आउन बाट वञ्चित पनि हुन सक्छ। यसरी चाहे जस्तो मज्जाको राजनीति हुन सक्दैन। त्यसले गर्दा समस्या उत्पन्न हुने सम्भावना रह्यो। फेरि उही गालीको राजनीति हुन्छ।

त्यसैले मैले हरेक युवा सथीहरुलाई विनम्र अनुरोध गरे, जाती सक्दो बढी युवा हातहरू आउनुस् तर प्रष्ट भएर आउनुस्।

(1) जागिर पाउन राजनीति हो? राजनीति गरेर आफ्नो वा वरिपरिका कुनै पनि व्यक्तिको व्याक्तिगत फाइदाको लागि काम गर्नेछु, कसैलाई जागिर लगाउनेछु भन्ने जस्ता सोच राखिन्छ भने त्यस्ता व्यक्तिले त झनै राजनीति गर्ने बारे सोच्नु नै हुँदैन।

किनकि राजनीति व्याक्तिगत सम्बन्ध प्रवर्धन गर्न होइन समग्र समाज र राष्ट्रको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर गरिन्छ र गर्नुपर्छ। यदि हाम्रा वरिपरि त्यस्ता व्यक्ति छन् भने सके सुधार्ने नभए तिनीहरूलाई निरुत्साहित गरौं। किनभने त्यस्ता सोच भएका व्यक्तिलाई अहिले नै सही बाटोमा हिंड्न प्रेरित गरेनौ भने पछि समाजको लागि "विष" साबित हुनेछन्।

राजनीतिक सम्बन्ध वा पहुँचका भरमा हामी नै आफ्नो फाइदा हुने काम गर्न थाल्यौं भने अनि देशको चिन्ता गर्ने को? त्यसैले सबै युवाहरुलाई अनुरोध छ, आउनुस् अघिल्लो पुस्ताका सबै कमीकमोरीलाई सुधार गर्दै एक पटक यो देशको मुहार फेर्न लागौं। जसको कोही छैन, उसको साहारा बनऔं।

युवाहरुको उपस्थिति र योगदान बिना यो देशमा कुनै पनि परिवर्तन भएको छैन र अब पनि सम्भव छैन। आर्थिक विकासका लागि पनि अब हामीले नै कम्मर कस्ने बेला आएको छ। सु_संस्कृत राजनीतिको जग बसाउन पनि हामीले नै हो अगाडि सर्ने र सरौं। तितर_वितर भएर राजनीतिमा लाग्यौं भने युवाहरुका एजेण्डाहरु विगत झैं ओझेलमा पर्ने निश्चित छ।

एकै स्वरमा, एकै ठाँउमा उभिएर हस्तक्षेपकारी राजनीतिको लागि पहल गरौं। यस्तो राजनीतिक शक्तिको परिकल्पना गरौं की, जहां जागिरको लागि पहुँच आवश्यक नहोस्, हाम्रो ज्ञान र शीपको अधिकतम उपयोग होस, mbbs पढ्न चाहने विद्यार्थीले आफ्नो आर्थिक हैसियत नियाल्न नपरोस्, खोज अनुसन्धान गर्ने वैज्ञानिकले व्याक्तिगत रुपमा अभियान चलाउन नपरोस्, सरकारी कामको लागि घण्टौं लाइनमा बस्न नपरोस् अनि शिक्षा_दिक्षाको लागि सुदुरको युवाले काठमाडौं को सपना देख्न नपरोस्, बुवा_आमा बिरामी हुँदा गृह जिल्लामा नै औषधि मुलो गर्न पाइयोस् अनि हाम्रा आधारभूत माग सुनुवाई होस्! आउनुहोस साथीहरु एक पटक परिवारको आस्था त्यागौं!

दसौं वर्ष देखिको आस्था त्याग्ने तयारी गरौं। पटक पटक हाम्रो सपना माथि कुठाराघात गरेका कुनै पनि दल वा व्यक्तिलाई सजाय दिउँ, सुधार गर्ने पट्टी लागौं। त्यो सजाय वा सुधार भनेको उनीहरुलाई एक्लो पारेर युवा शक्ति निर्माण नै हो। हामीले कम्मर कसेर अगाडि बढे कसैले हामीलाई छेक्न सक्दैन, रोक्न सक्दैन। जय युवा! जागौ युवा!!