मानव विकास प्रतिवेदन २०१९ को विषयमा सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरुसंग छलफल

मानव विकास प्रतिवेदन २०१९ को विषयमा सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरुसंग छलफल

धनगढी : संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपि) ले मानव विकास प्रतिवेदन २०१९ को विषयमा सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरुसंग छलफल गरेको छ ।

युएनडिपिले विश्वभर गरेको मानव विकास सम्बन्धी अध्ययनको विषयमा मंगलबार धनगढीमा एक कार्यक्रम आयोजना गरी सो प्रतिवेदनको विषयमा छलफल गरेको हो । सो क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पुरानो मानसिकता र संरचनाका कारण विकासले तिब्र गति लिन नसकेको बताए ।

उनले सुदूरपश्चिम प्रदेश विकासमा गति लिन चाहेको भएपनि पुरानो समस्याहरुलाई पन्छाउँदै अगाडि बढ्नु पर्ने भएकाले गति तिब्र हुन नसकेको बताए । मानव विकासलाई माथि उठाउनका लागि भौतिक संरचनाको विकास अपरिहार्य रहेको बताउँदै उनले भने, ‘मानव विकासलाई माथि उठाउन शिक्षा आवश्यक पर्छ । शिक्षा लिनका लागि स्थरीय शिक्षालय बनाउन भौतिक संरचना तथा विद्यालय सञ्चालन गर्न जरुरी छ ।’

विगतमा पछि पारिएका प्रदेशहरुको मानव विकासका लागि सरकारले पहिलो प्राथमिकता दिएर पछाडि पारिएको क्षेत्रको भौतिक संरचनाको विकास गर्नुपर्ने मुख्यमन्त्री भट्टले दोह¥याए ।

उनले आम नागरिकको आयस्तर बृद्धि भएमा मात्रै समग्र प्रदेश र मानव विकास हुन सक्ने बताए । ‘आम नागरिकको आयस्तर बृद्धि नहुँदासम्म खर्च मात्रै बृढ्छ,’ उनले भने, ‘यसले विकास हुँदैन । विकासका लागि आम नागरिकको आयस्तरमा समेत बृद्धि हुन आवश्यक छ ।’

कार्यक्रममा मानव विकास प्रतिवेदनमा समेटिएका विभिन्न सुचकहरु प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम विश्व विद्यालयका प्राध्यापक यज्ञराज पाठक, सामाजशास्त्रका विद्यार्थीहरु विजया जोशी र रामबहादुर चन्द, अधिवक्ता जानकी तुलधर तथा पत्रकार चित्रांग थापा सहितको प्यानलिष्ट रहेको प्यानल डिस्कसन गरिएको थियो ।