सेनेटरी प्याडले गरायो छात्राको विद्यालय नियमित

सेनेटरी प्याडले गरायो छात्राको विद्यालय नियमित

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा रहेको भानोदय मावि टाँटेमा छात्रालाई सेनेटरी प्याड वितरण गरिएपछि महिनावारी हुँदा पनि छात्राहरू नियमित विद्यालय आउन थालेका छन् ।

बाजुराका कतिपय स्थानमा भने महिनावारीलाई असहज रूपमा लिइने गरेको छ । महिनावारीको अवधिमा यहाँका छात्रालाई जटिल हुने गर्दछ । महिनावारी हुँदा विद्यालयका छात्रा पाँच दिन विद्यालयमा उपस्थित नहुने गरेको बताउँछिन् भानोदय माविकी छात्रा सुशीला धामी ।

नियमित सरसफाइको समस्या, गाउँमा विद्यमान कुप्रथा र शारीरिक रूपमा झेल्नुपर्ने समस्याका कारण छात्राहरू महिनावारीको अवधिमा विद्यालय नआउने गरेको धामीले बताइन् । विद्यालयमा शौचालय र प्याडको अभावमा छात्राले विद्यालय छोड्ने गरेको उनले सुनाइन् ।  

शिक्षक लक्ष्मीराज जोशीका अनुसार पिसविन बाजुरा र सामुदायिक विकास परियोजनाको सहयोगमा छात्रालाई सेनेटरी प्याड वितरणसँगै छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्रालाई सहज भएको हो ।

विद्यालयमा शौचालय निर्माण, सेनेटरी प्याड वितरणले गर्दा छात्रालाई सहज भएको बताउँछिन् कक्षा १० की छात्रा उर्मिला धामी । यसअघि महिनावारी हुँदा शौचालय नहुने, पेट दुःख्दा विद्यालयले वास्तै नगर्ने र प्याड नहुँदा विद्यालय आउनै गाह्रो हुने गरेको उनले सुनाइन् । 

६ कक्षामाथि पढ्ने कतिपय छात्राको हाजिर ४० प्रतिशत पनि नपुग्ने गरेको शिक्षिका सिर्जना जोशीले बताइन् । विद्यालयमा पिसविनले १३ सय थान प्याड सहयोग, छात्रामैत्री शौचालय निर्माण र प्रयोग भएको प्याड व्यवस्थापन गर्ने डम्पिङसाइड बनाइदिएपछि समस्या धेरै समाधान भएको शिक्षिका जोशीले बताइन् ।