यसकारण घट्दै छ डोटीमा एचआइभी संक्रमितको संख्या

यसकारण घट्दै छ डोटीमा एचआइभी संक्रमितको संख्या

डोटी : सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय एचआइभी सङ्क्रमित संख्या घट्न थालेको छ। पछिल्लो तथ्यांक हेर्दा संक्रमितको संख्या घट्न थालेको बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा कूल ९९४ संक्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ। पछिल्ला तीन वर्षयताको तथ्यांक हेर्दा एचआइभी संक्रमितको संख्या घट्दो क्रममा रहेको देखिएको छ।

आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ एचआइभी संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।

उनले भने, 'जिल्लामा एचआइभी संक्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण संक्रमितको संख्या घट्दै गएको छ तर अर्थ अभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ।'

जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका संक्रमित अन्य स्वस्थ मानिससरह रहेका उनले जानकारी दिए।

राज्यले एचआईभी संक्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका संक्रमित दुःखमा पर्ने गरेका संक्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताइन्।

उनले भनिन्, 'हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी संक्रमितका समस्या जस्ताका त्यस्तै छन्, संक्रमितका समस्यामा ध्यान दिन जरुरी छ।'

पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी संक्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको पूर्वीचौकी गाउँपालिकाकी एचआइभी संक्रमित रमा कुँवरले गुनासो गरिन्।

संक्रमितको संख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए।

त्यस्तै छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५/६६ मा २२२, २०६६/६७ मा ९३, २०६७/६८ मा १३०, २०६८/६९ मा ९९, २०६९/७० मा ८६, २०७०/७१ मा ८१, २०७१/७२ मा ७३, २०७२/७३ मा ६६ र आव २०७३/७४ मा ६७ नयाँ एचआइभी संक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ।

उक्त तथ्यांकअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी संक्रमित पत्ता लागेका छन्। पत्ता लागेका बिरामी पछिल्लो समय कहिँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने बताइएको छ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी संक्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ।