अब काठमाडौँमा माग्न नपाइने

अब काठमाडौँमा माग्न नपाइने

के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ?

अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामनपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने संहितामा रहेको छ ।

कामनपा प्रमुख विद्यासुन्दर शाक्य भन्छन्, ‘माग्ने पेशा गर्न नपाइने कानूनलाई कार्यान्वयन गर्न लागेका छौँ, माग्ने पेशा बनाउनेलाई हटाउँछौँ, एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाको संरक्षण गर्नेछौँ ।’

उनका अनुसार वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरुमध्ये परिवार पत्ता लागेकालाई पुनर्मिलन गराइने छ । उक्त कार्यमा कामनपाले आश्रमसँग सहकार्य गरेको प्रमुख शाक्यले जानकारी दिए ।

कामनपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको व्यवस्था रहेको छ ।