दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ। प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्।

‘टिकट छैन भन्दा होहल्ला गर्दै केही युवाहरू आए। धकेलाधकेल भयो। भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्‍यो,’ काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सेतोपाटीसँग भने,‘त्यही क्रममा पत्रकारलाई पनि लागेको हुन सक्छ।’

यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए। फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।

त्यस्तै, राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफिटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिटतर्फ १ हजार कायम गरेको थियो।

राखेपका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ। समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सम्बोधन गर्ने भएका छन्।