सगरमाथाको मापन प्रक्रिया लम्बियो, अझै केही महिना लाग्ने

सगरमाथाको मापन प्रक्रिया लम्बियो, अझै केही महिना लाग्ने

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ । नापी विभागका चिफ सर्भेयर म्यानेजर सुशील डंगोलले बाह्रखरीसँगको कुराकानीमा जनाएअनुसार ‘फिल्ड वर्क’ अझै बाँकी रहेकोले मापनको प्रक्रिया लम्बिएको हो । 

उनले भने,‘‘दुइटा टोली अझै फिल्डमा छ । टोलीमा संलग्नहरु फर्किएपछि अध्ययन गरेर उचाइ सार्वजनिक गरिन्छ । त्यसको लागि अझै दुई अढाई महिना लाग्न सक्छ ।’’

यसअघि सन् २०१९ को डिसेम्बर अर्थात् यसै महिना उचाइ सार्वजनिक गर्न सकिने जनाइएको थियो । तर, अहिले काम पूरा नभएकोले उचाइ सार्वजनिक गर्न केही ढिला भएको हो । 

चीनका राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा भएको सहमतिको एउटा बुँदामा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा  गरिने जनाइएको थियो । डंगोलले भने नेपाली टोलीले बाहिर गएर आवश्यक तालिम समेत लिइसकेको र अहिलेलाई मापन कार्यमा थप सहयोग नचाहिएको जनाए ।

सगरमाथाको पछिल्लो उचाइ ८,८४८ मिटर भए पनि भूकम्पलगायतका भौगर्भिक गतिविधिले पहिलाको तुलनामा उचाइ थपघट भयो कि भन्ने आशंका उत्पन्न भइरहेको बेलामा नेपालले आर्थिक वर्ष २०७४–७५ देखि यसको मापन प्रक्रिया अघि बढाएको हो । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । विश्वको सर्वोच्च शिखर भएकोले सगरमाथालाई नेपालको गौरवको रुपमा लिइने गरेको छ । 

मापनका लागि यसअघि भारत सरकारका तर्फबाट चासो देखाइए पनि नेपाल आफैंले सो कार्य अघि बढाएको हो । मापनको सिलसिलामा अहिलेसम्म करिब २५ करोड खर्च भएको जनाइएको छ ।

सगरमाथाको अहिलेको उचाइलाई सन् १९५५ मा सर्भे अफ इन्डियाले पत्ता लगाएको हो भने सर्भे अफ चाइनाले पनि त्यसलाई सन १९७५ मा मान्यता दिएको थियो । बृटिश सर्भेयर जनरल अफ इन्डियाका तत्कालीन प्रमुख सर जर्ज एभरेस्टको नामबाट यसको नाम सन् १९६५ मा  अंग्रेजीमा माउन्ट एभरेस्ट राखिएको हो ।