नेपाल भ्रमण वर्ष–२०२० : पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

नेपाल भ्रमण वर्ष–२०२० : पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गर्नुभएको सहयोगको आह्रवानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरुले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

सोमबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरुसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको बिषयमा जानकारी दिदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राख्नु भएको थियो । मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गर्नुभएको थियो ।

यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि अनुरोध गर्नुभएको थियो । वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो ।

उहाँले संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको बिषयमा सुझाव समेत राख्नु भएको थियो । उहाँले नेपाल भ्रमण वर्ष–२०२०को अवधीभर निषेधित क्षेत्रमा हेलीकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राख्नु भएको थियो । यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्त्तोरन्नतीको लागि अनुरोध गर्नुभयो ।

छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रा.लिका योगराज कडेल शर्मा लगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा कम्पनीहरुको सहयोग रहने बताउनु भएको थियो । विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरुलाई छुट दिने बिषयमा पनि छलफल भएको थियो ।

यसको बिषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२०को सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएका छ । छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो एक साता यता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफललाई तिब्र बनाउनु भएको छ । मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफल गर्नुभएको थियो ।

यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गर्नभएको थियो ।