डाक्टरको आफ्नै पहलमा फुलबारीमा नि : शुल्क स्वास्थ्य शिविर

डाक्टरको आफ्नै पहलमा फुलबारीमा नि : शुल्क स्वास्थ्य शिविर

धनगढी  : सेती प्रादेशिक अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलले आप्mनै पहलमा शनिवार कैलालीको फुलबारीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विशेषज्ञ डाक्टर उपलब्ध भएको शिविरमार्फत फुलबारी क्षेत्रका ३ सय बढि विरामीले उपचार सेवा पाएका छन् ।

डा. शर्मा पौडेलले अस्पतालबाट बचेको समयमा साँझ विहान काम गर्दै आएको अस्पताल लाइनस्थित गरिमा क्लिनिकको आयोजनामा शिविर आयोजना गरेका हुन् । शिविरमा निशुल्क स्वास्थ्य जाँच, निशुल्क प्रयोगशाला र निशुल्क औषधी वितरण गरिएको डा. शर्माले बताए । धेरैजसो विरामीहरुमा सुगर, मुटुरोग, सिकलसेल, मृगौला, श्वासप्रस्वास सम्बन्धि रोगका विरामीहरु रहेको उनले बताए ।

डा. शर्मा पौडेलसंगै डा दिपेन्द्र कुमार यादव, डा. राजेन्द्र जोशी, डा युक्ति भट्ट र नेत्र चिकित्सक डा युवराज जोशीले शिविरमा स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । त्यस क्रममा १३९ जनाले आँखाको जाँच तथा उपचार गराएका थिए । लामो समयदेखि छातीको समस्या खेप्दै आएकी फुलबारीकी सितादेवी बिकले शिविरमा जाँच गराउँदा आफुलाई मुटुको समस्या रहेको थाहा पाएको र अब थप उपचार गर्नु अनिवार्य भएको बारे जानकारी पाएको बताइन् ।

‘मलाई मुटुरोग छ भन्ने थाहै थिएन’ उनले भनिन्, ‘डाक्टरले अहिलेलाई औषधी दिनुभएको छ र राम्रो अस्पतालमा गएर थप उपचार गर्नु भन्नु भएको छ ।’ सामाजिक सेवामा समेत क्रियाशील सेती प्रादेशिक अस्पतालका ख्यातिप्राप्त बरिष्ट चिकित्सक डा. निराजनदत्त शर्मा पौडेलले यसअघि पनि विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएका छन् । फुलबारी क्षेत्रका विपन्न समूदायका विरामीहरुलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा खुसी लागेको डा. शर्मा पौडेलले बताए ।