आजदेखी "सुदूरपश्चिम महोत्सव" शुरु,नेकपा नेता भिम रावलले उद्घाटन गर्नुहुने

आजदेखी "सुदूरपश्चिम महोत्सव" शुरु,नेकपा नेता भिम रावलले उद्घाटन गर्नुहुने

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुदूरपश्चिम महोत्सव, २०७६ धनगढीमा सुरु हुँदैछ। "समृद्ध सुदूरपश्चिमका लागिस् आर्थिक समृद्धि" भन्ने नाराका साथ धनगढीको संघीय प्रहरी इकाइ कार्यालय मैदानमा महोत्सव सञ्चालन हुन लागेको संघले जनाएको छ।

उद्योग वाणिज्य संघले हरेक वर्ष महोत्सवका अवसरमा प्रमुख अतिथिलाई विभिन्न मागसहित माला लगाइ दिने गरेको छ। संघका अध्यक्ष पुष्प कुँवरले यस वर्ष प्रमुख अतिथिलाई सात बुँदे मागपत्रसहित सात किलोको माला लगाइने जानकारी दिनुभयो ।

हरेक वर्ष राज्यको कार्यकारी पदमा रहेका व्यक्तित्वबाटै महोत्सवको समुद्घाटन गरिने गरेको थियो। गत वर्ष प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्घाटन गरेका थिए भने यस वर्ष नेकपा नेता एवं पूर्वउपप्रधान, रक्षा तथा गृहमन्त्री भीमबहादुर रावलले समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

संघका अध्यक्ष पुष्प कुँवरले १४ वर्षदेखि सञ्चालन हुँदै आएको महोत्सवले उठाएका हालसम्म २१ बुँदामध्ये ६  बुँदा सम्बोधन भइसकेको बताउदै देश संघीयतामा प्रवेश गरेसंगै मागका बुँदाहरु संघ, प्रदेश र स्थानीय तह गरि तीन ठाउँबाट सम्बोधन हुने भएकाले यस वर्ष संघीय सरकारसंग सात बुँदे मागपत्र पेस गरिन लागेको जानकारी दिनुभएको छ । 

महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधिसहित बाल उद्यान गरी तीन सय स्टल रहने आयोजकले जनाएको छ। संघले महोत्सवमा एक करोड दुई लाख ४२ हजार रुपैयाँ आम्दानी तथा ६३ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। महोत्सव करिब तीन लाख व्यक्तिले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ।

महोत्सवमा यस वर्ष प्रवेशमा विगतकै शुल्कलाई निरन्तरता दिइएको छ। आयोजकका अनुसार विद्यार्थीलाई ४० र सर्वसाधारणलाई प्रवेशमा ५० रुपैयाँ शूल्क निर्धारण गरिएको छ।