सरकारले छाउपडिलाई घर बनाइ दिनुपर्छ

सरकारले छाउपडिलाई घर बनाइ दिनुपर्छ

मलाई सम्झना आउँछ आजभन्दा १५/१६ बर्ष पहिले म त्यही ५/६ बर्षको थिए पुसको महिना थियो मेरि आमा छाउ (महिनावारी) हुदा घरभन्दा अलि पर अलग्गै बनाइएको छाउपडी गोठमा सुतेको कुरा कुरो पुसको महिना को हो आमा रजस्वला भएको ५ दिनसम्म गोठमा बस्नु पर्ने हुन्थ्यो ।

साझ पख छाउपडिलाइ भनेर घरबाट एक थालमा रोटि एक लोटा (अम्खोरा )मा पानी दिए त्यसपछी दुई वटा एक ओछ्याउने थाङ्नो (ओछ्याउन लागि फाटा लत्ताकपडा हाली बनाइएको गद्द्दा) र एक ओढ्ने कम्मल दिए आगोको हल्कुटो दिए किनभने त्यो बेला प्राय गाउमा सोलार समेत थिएन उज्यालोको लागि भनी घरमा सानो लाइट बाल्ने गरिन्थ्यो  ।

म पनि आमालाई छोड्न नमान्ने आमा संगै सुत्ने बानी हरेक बालबालिकाको हुन्छ मेरो पनि थियो त्यसैले म हरेक राती आमासँग सुत्ने गए सानो एउटालाइ समेत राम्रोसँग सुत्नलाइ ठाउँ नहुने ठाउँमा हामी आमा छोरा थियौ रातभरि चिसो थियो सायद त्यसले होला आमा रातभरी सुत्नु भएन एकाछेउमा आगो बालेर रात कटाउनु भयो बिहानै उठेर काम गर्न जानुभयो अनि घरबाट दाइ आउनुभयो अनि मलाई ब्युझाउनु भयो ।

मलाई अब घरमा जान दिन भएन दिदिले खोलाबाट पानी भएर आउनु भयो मलाई समाती समाती पुसको महिनाको चिसो पानीले नुहाइ दिनुभयो म रोय कराय तर केही लागेन । नुहाएर म घरमा गए पछि आमा आफ्नो कामबाट फर्कनु भयो अनि नुहाइधुवाइ गर्नु भो साझ ओछ्याएका कम्मल गद्द्दा खोलामा गएर धुनु भो अलग्गै कोहि नजाने ठाउमा सुकाउन लगाउनु भयो त्यसपछि घरमा आउनु भो दाइले टाढैबाट आमाको (छाउपडी) अघिल्लो दिन दिएको अम्खोरामा पानी हाल्नुभयो ।

अनि दाल भात पनि अलग्गै खन्याइदिनु भयो पछिल्लो दिन फेरि साझ पर्यो अघिल्लो दिनको जस्तै आमा छोरा छाउपडी गोठमा गयौ अनि मैले आमालाई सोधे "आमा तम्लाइ दूध किन नदियाको मैले त कुराउनी खाएर आए" अनि आमाले मलाई भन्नू भो "यो छाउ भएको मान्छेले घर नजिक जान हुदैन भाडाकुडा छुन मिल्दैन, गाई भैंसीलाई छोयो भने त देउता रिसाएर गाई बाख्रा बाघले खान्छ रे बोटबिरुवा छोयो भने सुक्छ रे घरमा अनिष्ट हुन्छ रे दहि दूध खायो भने भैसिले दूध दिदैन हाम्रा देउता रिसाउछन धामीझाँक्री रिसाउछन ।

त्यसैले छाउपडिका लागि यो अलग्गै गोठ बनाएको हो यो उहिले देखि नै चलिआएको चाल चलन परम्परा हो " म मज्जाले सुनिरहे किनभने म एउटा नाबालक थिय सबै हो जस्तै लाग्यो । माथिको कथा त एक प्रतिनिधि कथा हो केही दिन अघि मात्र अछामको साफेबगर जस्तो प्रमुख शहर नजिक पार्बती राउतले छाउपडी गोठमा ज्यान गुमाउनु परेको छ यो संगै अछाममा मात्र छाउपडी गोठमा ज्यान गुमाउनेको संख्या १५ जना भन्दा बढी पुगिसकेको छ ।

यस्ता समाचारले गर्दा जो कोहिलाइ पनि सोच्न बाध्य पारेको छ , अछाम बाट बाहिर अध्ययन तथा रोजगारीको लागि बाहिर जादा आफ्नो परिचय दिन समेत लाज लागेर आउँछ किनभने अछाम भन्ने बित्तिकै उनिहरु एकदम बिकट भोकमरिको जिल्ला संगै छाउपडिको जिल्लाको हो तिमी भनेर भन्छन , यस्तो हेपाइ अहिलेका हरेक युवा पुस्ताले भोग्नु परेको छ ।

जसरी छाउपडी प्रथा अन्त्य गर्नको लागि भनेर थुप्रै सरकारी तथा गैर सरकारी संघ संस्थाले बर्षौ देखि बजेट कुम्ल्याउदै आएको कुरा तपाई हामी समक्ष नै छ । छाउपडी गोठमुक्त अभियान अछाममा सन्चालन भएको नि धेरै भैसक्यो आफुलाइ समाज परिबर्तनको संबाहक ठान्ने व्यक्तिले गाउँ गाउँमा जाँदै अन्धाधुन्ध गोठहरु भत्काउदै, यो गाउँमा कुनै पनि महिला गोठमा जादैन भनी कार्यक्रम गर्दै गोठमुक्त वडा गाउँ नगर घोषणा गरेका छन गर्दै छन यो केवल एउटा कागजमा मात्र सिमित हुन पुगे  ।

छाउपडी गोठमुक्त घोषणा कार्यक्रमका अध्यक्ष प्रमुख अथितिको घरमा समेत छाउ मान्छन , स्वयम् महिला अधिकार कर्मी , अरुलाइ शिक्षा दिने शिक्षिका समेत छाउगोठमा बस्ने गर्दछन यसको प्रमुख कारण उनिहरुको छाउगोठ भत्काइयो तर दिमागमा बसेको गोठ भत्काइएन, घोषणा कार्यक्रम गोठ भत्काइएको सेल्फी खिच्दैमा सकियो।

छाउपडी प्रथा न्यूनीकरण यसप्रकार गर्नसकिन्छ ?

१. घुम्ती बिधालयको स्थापना : अशिक्षा जनचेतनाको अभावका कारण महिला दिदिबहिनीहरु गोठमा ज्यान गुमाउन बाध्य छन । हरेक स्थानिय तहले छाउपडि प्रथा सम्बन्धि अलग्गै पुस्तक लेखेर उक्त पुस्तक हरेक टोल टोलमा गएर महिला तथा पुरुष दुबैलाइ संगै राखेर शिक्षा दिन सकिन्छ ।

२. सरकारले सुरक्षीत घर बनाइदिने : छाउपडी प्रथा अन्त्यको लागि सरकारले घर लगाइदिन जरुरी छ ताकी त्यो घरमा निस्सासिएर धुवाले मर्न नपरोस , बलात्कार हुन नसकोस । आजभोलीका युवा युवतीहरु शिक्षा जनचेतनाका कारण छाउपडिलाइ गर्ने भेदभाव पुर्ण रुपमा बन्द भैसकेको छ, उनिहरु दहि दूध घिउ समेत खान्छन उपलब्ध फलफुल खान्छन ।

अहिले जतिपनी छाउपाडिका घटना बाहिर आएका छन उनिहरुको पारिवारिक पृष्ठभूमि हेर्ने हो भने उनिहरु संग राम्रो संग बस्नलाइ घर छैन पुरै परिवार एउटैमा खाना खाने , त्यसैमा सुत्ने गर्दछन ।

अब छाउपडी रजस्वला भएको बेला कसरी एउटै भान्सामा नै सुत्न सकिन्छ ? त्यसैले छाउपडी अन्त्य गर्न लागि परेका जति पनि सरकारी तथा गैरसरकारी संघ संस्था छन तिनिहरुले प्रत्येक टोलमा छाउपडिको लागि भनेर व्यवस्थित सुरक्षीत घर लगाउन ढिलो गर्न्नु हुन्न छाउपडी गोठ भत्काउदैमा छाउपडी प्रथा अन्त्य हुन सक्दैन जबसम्म मानिसको मानसिकता परिबर्तन हुदैन नि त्यहासम्म यो प्रथा कायम नै रहन्छ ।

३. घरमा बस्ने छाउपडिलाइ भत्ता दिनुपर्छ : छाउपडी प्रथाको गरिबी हो तसर्थ यो प्रथा हटाउनको लागि सबैलाई स्थानीय तहले छाउपडि घरमा बसे बाफत हरेक युवतीलाई भत्ताको ब्यवस्था गर्नुपर्दछ । उपलब्ध भत्ताबाट रजस्वला भएको महिलाले प्याड किन्न सक्छन साथै पोसिलो खानेकुरा फलफुल आदि किनेर खान सक्छन यसबाट उनिहरु कमजोर हुन बाट बच्न सक्छन ।

पहिलेको भन्दा अहिले धेरै कम भैसकेको छ अहिले सुदूरपश्चिमका अधिकाश पुरुषहरु देश बाहिर छन उनिहरुलाइ थाहा छ त्यो देशमा नि छाउपडी हुन्छन तर छाउ बार्दैनन भन्ने कुरा तर के गर्नु घरमा आमा बुवा बाजे बजै पुरानो सोच पालेर बसेका हुन्छन उनिहरुकै आधारले स्वास्नी ,बहिनिहरु बसेका छन त्यसैले उनिहरु साघुरो छाउगोठमा जान बाध्य छन ।

अबका कार्यक्रम स्थानीय स्तरमा धार्मिक सामाजिक राजनितीक मान्छेहरुको प्रत्यक्ष संलग्नतामा गर्नुपर्दछ । हरेक स्थानिय तहले छाउपडी प्रथाको बारेमा पुस्तक लेखी हरेक टोलटोलमा घुम्ती बिद्यालय खोल्नुपर्दछ । पढे लेखेका युवाहरुलाइ नेतृत्व दिनुपर्दछ तब मात्र समाजमा जडो गाडेर बसेको छाउपडी कुप्रथाको अन्त्य गर्न सकिन्छ ।