उपचुनावको समीक्षा केन्द्रीय कमिटीमा पेश गर्न नेकपा सचिवालय बैठककाे निर्देशन

उपचुनावको समीक्षा केन्द्रीय कमिटीमा पेश गर्न नेकपा सचिवालय बैठककाे निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपचुनावको समीक्षा रिपोर्ट केन्द्रीय कमिटीमा पेश गर्न सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ ।

बुधबार पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपचुनाव भएका सम्बन्धित क्षेत्रका कमिटीहरुलाई चुनावको समीक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो ।

कमिटीहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।  बैठकमा पार्टीको संगठनात्मक एकताका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

अब बस्ने सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । नेकपाको स्थायी कमिटी र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराउनु भएको थियो । गएकाे मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीसँग छलफल गरेर डाकिएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्रीसमेत रहनुभएका ईश्वर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो ।