प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। कार्यकारी जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार बिहान पहिलोपटक बैठक बोलाएका हुन्।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको सचिवालयले जनाएको छ।आगामी बैठकका एजेन्डा तय गर्नका लागि सचिवालय बैठक बोलाइएको हो। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनु अघिल्लो दिन अर्थात् मंसिर ९ मा तीन शीर्ष नेताहरू (ओली, दाहाल र विष्णु पौडल) बीच जुटेको संगठनात्मक एकताका बाँकी कामको सहमति र उपचुनावको समीक्षामा बैठक केन्द्रित हुने नेताहरूको भनाइ छ। 

२०७५ जेठ ३ मा तत्कालीन एमाले-माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गरिरहेका थिएनन्। पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय बहसमा थियो।

दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली-दाहालबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने गरी मंसिर ४ मा ओली-दाहालको कार्य विभाजन भएको थियो।

दाहालले यसअघि पार्टी एकताको १८ महिनाको बीचमा एकपटक मात्र पार्टी बैठकको अध्यक्षता गर्न पाएका थिए। प्रधानमन्त्री ओली 'प्लाज्मा फेरेसिस' का लागि सिंगापुरमा रहेका बेला दाहालले बैठक बेलाएका थिए।

नेकपाभित्र लामो समयदेखि पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक नसक्दा पार्टीभित्रै असन्तुष्टि चुलिँदै जान थालेको छ। केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक निर्वाचन आयोगमा दल दर्ताका लागि मात्र बसेको छ।

स्थायी समिति गत वर्ष (मंसिर २९ देखि पुस १३ सम्म) देखि बस्न सकेकै छैन। दाहालले यी दुवै बैठक पनि सचिवालय बैठकपछि राख्ने तयारी गरेका छन्।