सत्ताको लालचले नेपाली भूमी मिचिएको हो –चित्र बहादुर केसी

सत्ताको लालचले नेपाली भूमी मिचिएको हो –चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले राजनीतिक अस्थिरता र जसरी पनि सत्ता र शक्तिमा बसिरहनको प्रवृतीका कारण नेपाली भूमी मिचिएको बताएका छन । सोमबार अत्तरियामा पत्रकारहरु संगको भेटघाट कार्यक्रममा अध्यक्ष केसीले ६० /६५ बर्ष पहिले नै कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग मिचिएको भएपनि राजनीतिक दलहरुको जसरी पनि सत्तामा बस्ने , जसरी पनि शक्तिमा बसिरहने, देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता जोगाउने भन्दा पनि सत्ता र शक्तिलाई प्राथमिकता दिएका कारण यो बिषय अहिले सम्म थाती रहेको बताए । ‘नेपालमा राजनीतिक अस्तिरताका कारणले भारतले फाईदा लिएको हो । त्यो क्षेत्र लामो समय सम्म हडपेको कुरा थाहा नभएको होईन । त्यहाँ गएर मतगणना गरेका मान्छे नै जिवीत छन । त्यहाँ गएर जग्गा हडपेको रिपोर्ट पठाउने सिडियो पनि अहिले जिवीत छन ।’ अध्यक्ष केसीले भने – ‘यस्तो ठोस आधिकारीक प्रमाण हुँदा हुँदै पनि नेपालका सत्तामा बस्नेहरुले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिता भन्दा सत्ता स्वार्थ, भारतको आर्शिबाद लिएर सत्तामा बस्नेहरुको कमजोरीको फाईदा भारतले लिएको हो ।’

पुर्व उपप्रधानमन्त्री समेत रहेको केसीले आफूहरुले पहिले देखि नै यस बिषयमा पटक पटक बोल्दै आएको बताए । उनले पार्टी स्थापना भएको २०४४ सालदेखि नै भारतले मिचेको कालालपानीको भू–भाग छोड्न आवाज उठाउदै आएका बताए ।

‘यसपाली सरकारमा २ तिहाईको बहुमत छ । अहिले जनता जागरुप पनि भएका छन । सबैतिरबाट अहिले आवाज पनि उठेको छ । त्यसैले अहिले सरकारले अहिलेको आवाजको प्रतिनिधित्व गर्नु पर्दछ ।’ अध्यक्ष केसीले भने – ‘भारतले कुटनीतिक पहलबाट नेपाली भु भाग छोडेन भने हामीले आफूसंग भएका प्रमाण सहित यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्नु पर्छ ।’

प्रचण्डले अहिले नै अन्तराष्ट्रियकरण नगरौ भन्नुको कारण के हुन सक्छ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष केसीले पहिला कुटनीतिक पहल गर्नुपर्छ भनेर पनि होला या सत्तामा भएर अलि चर्को नबोलै भनेर पनि हुन सक्ने बताए । उनले देशको सत्तामा बसेकालाई भारतका बिरुद्ध चर्को बोल्नु अझै पनि गारो कुरा भएकाले त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने बताए ।

उनले १९६२ मा भारत र चीनको बिचमा भएको युद्धमा भारत हारेपछि नेपाली भूमी कब्जा गरको दावी गरे । उनले चीनियाहरु संग हारेपछि चीनिया भू–भाग एक ईन्च पनि लिन नसकेर भारतीय सेना कालापानीमा आएर बसेको बताए ।

भारतले राजा महेन्द्रकै पालामा  भारतले कालापानीमा सेना राखेको बताउँदै अध्यक्ष केसीले राजा महेन्द्रले २०१५ सालमा कांग्रेशको २ तिहाईको सरकार हटाएर पंञ्चायत ल्याउदा भारतका प्रधानमन्त्री नेहरुले बिरोध गरेकै कारण त्यस बेलाको सन्तुलन मिलाउनको लागि कालापानीमा भारतीय सेना राख्न दिएको हुन सक्ने बताए ।

उनले भारतले जम्मु कस्मिर हडपेपछि मनोबल बढेकाले त्यसै मैकामा नेपाली भू–भाग कालापानी सहित आफ्नो नक्सामा राखेको बताए । ‘नेपालको पश्चिमी सीमा महाकाली नदी भनेर सुगौली सन्धिमा प्रष्ट छ ।’ अध्यक्ष केसीले भने – ‘अहिले पनि कैयौ दस्ताबेज नेपाल संग छन । त्यस कारणले जुनसुकै मूल्य चुकाएर भएपनि हाम्रो भूमी हामीले फिर्ता लिनु पर्छ ।’

उनले अहिले पनि भारतले राजनीतिक दल देखि कर्मचारी तहमा आफ्नो प्रभावमा पार्ने गरेको बताउँदै सीमा रक्षाको लागि जनदवाव दिन राष्ट्रिय जनमोर्चाको ७ दिने अभियानले जनदवाव बढाउन सहयोग गरेको दावी गरे ।

नेपाली भू–भाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश भरी सुरु गरेको सप्ताहव्यापी कालापानी अभियान समापन कार्यक्रममा सहभागी हुन अध्यक्ष केसी सोमबार सुदूपश्चिम आएका हुन । केसीले मंगलबार महेन्द्रनगरमा हुने सप्ताहव्यापी कालापानी अभियान समापन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

मंसिर ११ गते देखि १७ गतेसम्म सप्ताहव्यापी अभियान अन्तरगत जनमोर्चाले जनस्तरबाटै राज्यलाई दबाब सिर्जनाको लागि अभियान सञ्चालन गरिएको जनाएको छ ।