यी आठ पुरूषसँग छ आधा विश्वको सम्पत्ति

यी आठ पुरूषसँग छ आधा विश्वको सम्पत्ति

विश्वका आठ धनाढ्य पुरूषसँग आधा विश्वको सम्पत्ति छ। तीमध्ये ६ जना फोर्ब्सको विश्वकै धनी सूचीमा परेका अर्बपति छन्।

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, बर्कसायर ह्याथवेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत वार्रेन बफेट, एमजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस, ओर्‍याकलका सहसंस्थापक ल्यारी एल्लिसन, न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग र फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग सबै अमेरिकी नागरिक र अर्बपति हुन्।

अक्सफामका अनुसार उनीहरूबाहेक मेक्सिकोका टाइकुन कार्लोस स्लिम र स्पेनका एमान्सियो ओर्टेगा पनि छन्। उनीहरू कुल सम्पत्ति चार खर्ब २६ अर्ब अमेरिकी डलर छ।  विश्वका ३.६ अर्ब मानिससँग उनीहरू जत्तिको सम्पत्ति छैन। उनीहरू अधिकांश विकासोन्मुख देशमा बस्छन्।

अक्सफामको यो तथ्याङ्कले बढ्दो आर्थिक असमानताको चिन्ताजनक अवस्था देखाउँछ। संस्थाले सन् २०१४ देखि आर्थिक असमानताबारे अध्ययन गर्दै आएको छ।

बढ्दै गएको असमानताले लोकतान्त्रिक पद्धतीमा जोखिम बढाउँदैछ। अमेरिकामा धनी र गरिबबीच बढ्दै गएको अन्तरले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बन्न सहयोग पुग्यो। युरोपेली संघबाट अलग्गिने संयुक्त अधिराज्यको निर्णय “ब्रेक्जिट” पनि यसैको नतिजा हो।

“बढ्दो असमानताले हाम्रो समाजलाई टुक्र्याउँदैछ,” अक्सफामले प्रतिवेदनमा लेखेको छ। ब्रेक्जिट र ट्रम्पको अभियानलाई उद्धृत गर्दै “जातिवादको चिन्ताजनक वृद्धि र मूलधारको राजनीतिमा व्याप्त निराशा” बढेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१६ मा विश्वका एक प्रतिशत धनाढ्यहरूसँग पृथ्वीको आधाभन्दा धेरै सम्पत्ति रहेको अक्सफामले उल्लेख गरेको छ। फोर्ब्सको सूचिमा एक हजार आठ सय दश जना अर्बपति छन्। तीमध्ये ८९ प्रतिशत पुरूष छन्। उनीहरूसँग ६५ खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ। यो भनेको ७० प्रतिशत जनसंख्याको सम्पत्ति हो।

अक्सफामले फोर्ब्सको अर्बपतिको सूचि र क्रेडिट सुइसको सम्पत्ति तथ्याङ्कको आधारमा यस्तो विश्लेषण गरेको हो। सम्पत्ति तथ्याङ्क अनुसार विश्वका गरिब ८० प्रतिशत अफ्रिका र भारतका वयस्क हुन्। उनीहरू युवा, अविवाहित र कम शिक्षित छन्। अझ कम शिक्षित महिलासँग झनै कम सम्पत्ति छ।

तीमध्ये थोरै अमेरिकामा छन्। सम्पत्ति तथ्याङ्कले व्यक्तिको सम्पत्तिबाट कर्जा घटाएर खुद सम्पत्ति मात्रै हेर्छ। अर्थात् धेरै कर्जा लिएका अमेरिकाका युवाहरू कागजमा गरिब देखिन्छन्। उनीहरूले कार वा विद्यार्थी कर्जा लिएका हुन्छन्।

फ्युजनका फेलिक्स साल्मन लगायतका केहि अर्थशास्त्रका लेखहरूले यो बुदाँको आधारमा अक्फामको प्रतिवेदन सहि नभएको तर्क गरेका छन्। अक्सफामको नीति तथा अनुसन्धानका निर्देशक गवेन क्रिप्केले यसलाई स्वीकारेका छन्। यद्यपि प्रतिवेदनको नतिजालाई नजरअन्दाज गर्ने कारण भने नभएको उनले बताए।

कर्जालाई पूर्ण रूपमा बेवास्ता गर्दा सबैभन्दा धनी ५६ जनाको सम्पत्ति सबैभन्दा गरिब ५० प्रतिशतको सम्पत्ति बराबर हुने अक्सफामको प्रतिवेदनमा उल्लेख गरिएको छ।

“आर्थिक पिरामिडको शीर्ष स्थानमा धनीहरू तीव्र रूपमा अझै धनी हुँदैछन् भने बाँकी जनसंख्या संघर्षरत छ,” क्रिप्केले भने। सबैभन्दा धनी आठ व्यक्तिको सम्पत्ति अविश्वसनीय भएको उनले बताए।

पोहोर साल अक्सफामको प्रतिवेदन अनुसार ६२ जना अर्बपतिसँग संसारको आधा सम्पत्ति थियो। क्रेडिट सुइसले तथ्याङ्कको गुणस्तर बढाएकोले यो वर्ष ठूलो परिवर्तन देखिन्छ। यही तथ्याङ्कलाई पोहोर प्रयोग गरेको भए विश्वको आधा जनसंख्याको सम्पत्ति जम्मा ९ जना अर्बपतिसँग हुने क्रिप्केले बताए। 

फस्टाउँदो शेयर बजारले पोहोर सालको अन्तर बढाउन आंशिक भूमिका खेलेको थियो। डलरको बढ्दो मुल्यले पनि यसमा योगदान दिएको छ। बढ्दो आर्थिक असन्तुष्टिका कारण ट्रम्पको राजनीतिक सम्पत्तिलाई फाइदा पुगेको छ। उनी फोर्ब्सको अर्बपति सूचिमा ३२४ औं स्थानमा छन्। उनीसँग त्यो स्थानमा स्टार वार्सका जन्मदाता जर्ज लुकास पनि छन्।

ट्रम्पले राष्ट्रपति बनेपछि अमेरिकाको इतिहासकै सबैभन्दा धनी समूहलाई क्याबिनेटमा मनोनित गरेका छन्। उनीहरूको संयुक्त सम्पत्ति नै १२ अर्ब अमेरिकी डलर भएको ब्लुमबर्गले हालै अनुमान गरेको छ। न त ब्रेक्जिट न ट्रम्पको नीति प्रस्ताव दुवैलाई बढ्दो आर्थिक असमानताको समाधानका रूपमा लिइएको छैन। बढ्दो आर्थिक अन्तरले विपन्नहरूको स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने अनुसन्धानहरूले देखाएको छ।

मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्नुका साथै आत्महत्या दर पनि बढ्छ। आयु पनि कम हुन्छ। श्वेत व्यक्तिहरूको मृत्यु दरको वृद्धि र हेरोइनको प्रयोग बढ्नुमा आर्थिक असमानताकै हात भएको केहीको तर्क छ।