कञ्चनपुरमा २ जनामा स्क्रब टाईफसको संक्रमण

कञ्चनपुरमा २ जनामा स्क्रब टाईफसको संक्रमण

कञ्चनपुर : कञ्चनपुरमा २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको छ । महाकाली अस्पतालमा उपचार गराउन आएका २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

भिमदत्त नगरपालिकाका ९ र १८ का २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको महाकाली अस्पतालका मेडिकल रेकर्डर नारदप्रसाद भट्टले बताए ।

उनका अनुसार गत वर्ष एक जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा स्क्रब टाईफसका बिरामी बढी भेटिए पनि कञ्चनपुरमा भने यस वर्ष पहिलो पटक देखिएको अस्पतालले जनाएको छ ।

मुसा जातिमा पाइने सुल्सुले किर्नाको टोकाइबाट स्क्रब टाइपसको संक्रमण हुने चिकित्सक बताउँछन् ।यसको संक्रमण भएका बिरामीमा किर्नाले टोकेको ठाउँमा घाउ तथा शरीरमा बिमिरा देखिने, अत्यधिक ज्वरो आउनुका साथै शरीरका विभिन्न भाग दुख्ने गर्दछ ।

समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।