विवाह पञ्चमी : जन्तीलाई ३६ ब्यञ्जन खुवाएर बिदाइ गरिँदै

विवाह पञ्चमी : जन्तीलाई ३६ ब्यञ्जन खुवाएर बिदाइ गरिँदै

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको साताव्यापी सिता–राम विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा विधि हुने भएको छ।  रामकलेवाको अवसरमा जानकी मन्दिर प्राङ्गनमा भारतको अयोध्याबाट आएका जन्तीका लागि विशेष भण्डारा (भोज)को गरिदैछ ।

पौराणिक मान्यतानुसार रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनाहरुलाई मिष्ठान भोजन गराउने गरिन्छ। पाहुनालाई ३६ व्यञ्जन खुवाउने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले बताए। भोजन आज साधुसन्त तथा महन्तहरुलाई दक्षिणा आदि प्रदान गरी बिधिबत रुपमा बिदाइ गर्ने परम्परा रहेको छ। 

'दक्षिणाको रुपमा मिथिला पाग, गम्छा, धोती र नगद समेत दिने गरिन्छ।' उत्तराधिकारी महन्थ दासले भने, ‘जसरी हामी छोरीको विवाहमा पाहुनालाई सत्कार गर्छौ। दक्षिणा दिएर विदाइ गर्छौ। त्यसरी नै यहाँ पनि सबै विधिपुर्वक पाहुनाको स्वागत तथा सत्कार गर्नेछौं।’

विवाहको क्रममा हुने तिलक, मटकोर, जन्ती र मरजादको भोज (राम कलेवा)को आयोजनले यस धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको मैथिली संस्कृतिविद्हरु बताउँछन्। यस महोत्सवले लोपोन्मुख विवाह गीतहरुलाई समेत संरक्षण गरेको छ। यस वर्ष मंसिर १० गतेबाट सुरु भएको साताव्यापी विवाह पंचमी महामहोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुन्छ।

महोत्सव अन्तर्गत आइतवार राति त्रेतायुगमा जस्तै भगवान रामसँग माता सिताको विवाह गरियो। विवाहका लागि भारतका अयोध्याबाट आएका जन्तीले माता सिताका लागि सुनका गहना समेत ल्याएका थिए। समारोहमा भारतका अयोध्याबाट आएका जन्तीलाई गीतका माध्यमले गाली समेत दिए। विवाहमा जन्तीको बहिनीलाई गाली दिने मैथिली संस्कृति हो।

जानकी मन्दिरमा आयोजित विवाह समारोहका प्रमुख अतिथि संघीय सरकारका उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादव थिए। साथै मुख्यमन्त्री लालबाबु राउत, राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संघीय सांसद उमाशंकर अरगरियालगायतका सहभागिता रहेको थियो। वैवाहिक समारोह हेर्न लाखौं श्रद्धालु समेत उपस्थित थिए।