व्यक्तित्व विकासका लागी सहयाेगी प्रसिद्द भनाइहरू

व्यक्तित्व विकासका लागी सहयाेगी प्रसिद्द भनाइहरू

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ । व्यक्तित्वमै सफलताको रहस्य लुकेको हुनाले सफलता प्राप्तिका लागि व्यक्तित्व निर्माण अत्यावश्यक छ ।

आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा पनि व्यक्तित्वकै आधारमा तय हुन्छ तसर्थ कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ । हिजोआज व्यक्तित्व विकासका लागि तालिम पनि लिन सकिन्छ । तालिम प्रदान गर्ने संस्थामा गएर वा विज्ञहरूको सहायता लिएर व्यक्तित्वलाई चाहेअनुरूप बनाउन सकिन्छ ।

पहिरन : फेसन डिजाइनरहरूका अनुसार व्यक्तित्व विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका पहिरन वा ड्रेस सेन्सको हुन्छ । पहिरनलाई जति तरिका मिलाएर लगाउन सकियो त्यो त्यति नै प्रभावकारी हुन्छ । कस्तो अवसरमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने कुराको जानकारी राखेर त्यसलाई अवलम्बन गर्दा अरूलाई सहजै आकर्षित गर्न सकिन्छ । पार्टी पहिरन, मिटिङ तथा कार्यालय जाँदाको पहिरन, भ्रमण गर्दाको पहिरन आदि एकै प्रकारको हुँदैन । त्यसैले जुन बेला जस्तो पहिरन लगाउँदा सुहाउँछ त्यसैअनुसार पहिरन छनोट गर्न सके व्यक्तित्वमा अभूतपूर्व आकर्षण उत्पन्न गराउन सकिन्छ । पार्टीकै कुरा गर्दा पनि आफ्नो घरमा पार्टी हुँदा र अरूको पार्टीमा जाँदा लगाइने पहिरन फरक किसिमको हुनु आवश्यक छ ।

शृंगार : महिलाको सौन्दर्य शृंगार गर्दा अझ खुल्छ, शृंगारले व्यक्तित्वमा पनि परिवर्तन ल्याउँछ । शृंगार पनि कस्तो समारोहमा जाने हो त्यसैअनुरूप हुनुपर्छ । पार्टीमा जाने हो भने कलरफुल मेकअप तथा अफिसमा सामान्य हलुका मेकअप गर्नुपर्छ । पहिरन तथा उमेरका आधारमा पनि मेकअप फरक हुनुपर्छ अन्यथा आकर्षक बन्न गरिने मेकअपले भद्दा वा कुरूप बनाउन बेर लाग्दैन । मेकअप आफ्नो पद–प्रतिष्ठा, सामाजिक सम्बन्ध एवं मर्यादा अनुकूल पनि हुनुपर्छ ।

बडी ल्याङ्ग्वेज : शरीरको पनि आफ्नै प्रकारको भाषा हुन्छ जसलाई चालढाल, बानी वा बडी ल्याङ्ग्वेज भनिन्छ । हिँडडुल गर्ने, उठबस गर्ने, उभिने, फोनमा कुरा गर्ने आदि कुरामा पनि सबैको आ–आफ्नै शैली हुन्छ । व्यक्तित्व निर्माणमा यस्ता कुराको पनि अहम् भूमिका हुन्छ । कसैको हात हल्लाउने, नङ टोक्ने, नाकमा हात लाने, औंलाले भुइँ कोतर्नेजस्तो बानी हुन्छ । यस्तो बानीले व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ ।