महिनावारीको पीडाले महिलाहरुको ९ दिनको उत्पादन क्षमता घटाउँछ

महिनावारीको पीडाले महिलाहरुको ९ दिनको उत्पादन क्षमता घटाउँछ

महिनावारीको समयमा महिलाहरुले सहने पीडाबारे समाजमा पर्याप्त ध्यान दिइएको छैन । यस्तोमा यही सम्बन्धी गरिएको एक नयाँ अनुसन्धानमा महिनावारीको चरम पीडाले स्कुल वा कार्यालयमा महिलाहरुको वार्षिक ९ दिन बराबरको उत्पादन क्षमता कम गराउने गरेको पत्ता लागेको हो ।

यसका लागि अनुसन्धानकर्ताले १५ –४५ वर्षका ३२ हजार भन्दा बढी महिलाहरुमा अध्ययन गरि महिनावारीका कारण उनीहरुको क्षमतामा कसरी र कति कमी आइरहेको छ भन्ने सम्बन्धमा गहिरो खोज गरेका हुन् ।

यसमा पीडादायक अवस्थामा काम गरेको र स्कुल गएर पढेको समयको पनि मूल्यांकन गरिएको छ, जसलाई अध्ययन टोलीले ‘प्रेजेन्टिजम’ को नाम दिएका हुन् । अर्थात जागिर खोसिने डरले मात्र उपस्थिति जनाउनु ।

प्रकाशित यस अनुसन्धानमा सातमध्ये केबल एक, अर्थात १४ प्रतिशतले मात्र कठिन समयमा कार्यालय वा स्कुलबाट बिदा लिने गरेको पाइएको हो । त्यस्तै ३.५ प्रतिशतले भने प्रत्येक महिना उनीहरुलाई असह्य पीडा हुने गरेको बताएका छन् ।

यसैगरी सहभागी मध्ये ८१ प्रतिशत महिलाले महिनावारीको समयमा खप्नुपर्ने शारीरिक असहजताकै कारण उनीहरु कम उत्पानदशील हुने गरेको बताए । रिपोर्टका प्रमुख लेखक तथा नेदरल्यान्डको रेडबोड मेडिकल सेन्टरका महिला विशेषज्ञ थिओडुर निएबोइर भन्छन्, ‘अधिकांश महिलाले महिनावारीको समयभर आफू अन्य बेलाजस्तो सक्रिय हुन नसक्ने र प्रत्येक घण्टामा शौचालय गइरहनुपर्ने लगायत अन्य असहज परिस्थितिका कारण काममा केन्द्रित रहन गाह्रो हुने बताएका छन् ।

’उनका अनुसार विशेषगरी २१ वर्ष मुनिका युवतीले बढी उमेरका महिलाको तुलनामा महिनावारी बिदा लिने सम्भावना तीन गुणा अधिक हुने गरेको छ ।  

बीएमजे ओपन मेडिकल जोर्नलमा प्रकाशित यो यस प्रकारको अहिलेसम्मकै ठूलो स्तरको अनुसन्धान हो । यस क्रममा महिलाहरुले महिनावारी समस्याका कारण बिदा लिने गरेपनि पाँच मध्ये केबल एकले मात्र आफ्नो कार्यालय वा स्कुलमा बिदा माँग्नु पछाडिको वास्तविक कारण खुलाउने गरेको पाइएको हो । सहभागीमध्ये ६८ प्रतिशतले सो समयको भर्पाइका लागि काममा वा स्कुलमा अन्य दिन उपलब्ध भए हुन्थ्यो भन्ने चाहेका थिए ।

त्यसैगरी २१ औँ शताब्दीको दुई दशक बितिसक्दा पनि अझै केही क्षेत्रमा भने महिनावारी सम्बन्धी कुरा गर्नु असामाजिक मानिएको पनि अध्ययनमा पत्ता लागेको निएबोइर बताउँछन् । उनी भन्छन्, ‘त्यसैले महिनावारी लक्षणका असरबारे समाज खुला रुपमा कुरा गर्ने वातावरण हुनुपर्छ भने कम्पनीहरुले आफ्ना महिला कर्मचारीसँग यसबारे खुलस्त कुरा गर्न जरुरी देखिएको छ ।’

निएबोइर भन्छन् की यो अनुसन्धानबाट प्राप्त नतिजा महिला विरुद्ध भेदभाव गर्न दुरुपयोग हुन सक्नेप्रति उनलाई ठूलो चिन्ता थियो तर आफूहरुले छुट्टै दृष्टिकोण मार्फत सकारात्मक सन्देश दिन खोजेको उनले बताए ।

अहिले विश्वका १.८ अर्ब भन्दा बढी महिलामा महिनावारी हुन्छ तरपनि यस विषयका समस्या र महिलाहरुमा यसले पार्ने वास्तविक असरबारे कमै चर्चा भइरहेको छ ।

उनले भने, “महिनावारीसँग सम्बन्धित लक्षणले ठूलो स्तरमा उत्पादन क्षमता कम गराइरहेको छ र यसका लागि ‘एब्सेन्टिजम’ (अनुपस्थिति) होइन प्रेजेन्टिजम नै जिम्मेवार छ । बिदा बस्नु भन्दा महिलाहरुको उत्पादन क्षमता उपस्थित भएर पनि काम गर्न नसक्नुले घटाइरहेको छ ।”

यसरी महिनावारी बिदालाई महिलाहरुको पीडादायी समयको सबैभन्दा उचित सम्भावित समाधानका रुपमा लिन सकिन्छ जसबेला उनीहरु कठिनाइ र असहजता कारण घरैमा आराम गरि बस्नुपर्ने हुन्छ । हाल विभिन्न एसियाली मुलुकहरुमा कामगर्ने महिलाहरुका लागि भनेर यस्तो प्रावधान पनि मिलाइएको ड्यानिअल केइसरले संचार माध्यम सिएनएनसँग बताए ।

उनी विश्वव्यापी महिला स्वास्थ्य संगठनका संस्थापक हुन् । यसरी इन्डोनेशिया, जापान, भियतनाम, दक्षिण कोरिया, ताइवान र चीनमा महिलाहरुलाई प्रत्येक महिना महिनावारी बिदा लिन पाउने कानुनी व्यवस्था रहेको छ । तर पुरुष प्रधान यी मुलुकहरुमा कमै महिलाले मात्र सो बिदालाई आफ्नो अधिकार सम्झिएर अपनाउने गरेका छन् ।

विश्वका अन्य ठाउँमा भने महिनावारी बिदा सम्बन्धी नीति कम्पनीमा निर्भर रहेको देखिएको छ । जस्तै बेलायतमा अवस्थित ‘को–एक्जिस्ट’ नामक कम्पनीले महिलाहरुलाई बिदा लिने वा घरबाटै काम गर्ने अनुमति दिएको छ अथवा प्रभावित महिलाले अरु नै शिफ्टमा काम गर्न पनि पाउँछन् ।

यता अष्ट्रेलियामा पनि भिक्टोरियन वुमेन्स ट्रस्ट समुहले आफ्ना कर्मचारीहरुका लागि पीडादायक महिनावारीमा तलब नकाटी बिदा बस्न पाउने सेवा दिलाउँदै आएको छ ।