आज एड्स दिवस : घट्दै नयाँ संक्रमित

आज एड्स दिवस : घट्दै नयाँ संक्रमित

आज ३२ औँ विश्व एड्स दिवस। हरेक वर्ष डिसेम्बर १ तारिखका  दिन विश्व एड्स दिवस मनाइन्छ। सन् १९८८ देखि हरेक वर्ष यो मनाइँदै आएको छ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण होस् भन्ने उद्धेश्यले यो दिवस मनाइन्छ। 

यस वर्षको दिवसको नारा रहेको छ 'एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका'। समुदाय भन्नाले साथी शिक्षक,संक्रमितहरुको सञ्जाल, एचआइभीको उच्च जोखिम रहेका जस्तै पुरुष समलिंगी, सुईद्धारा लागुऔषध प्रयोगकर्ता र यौनकर्मी, महिला तथा वयस्कहरु, परामर्शकता, समुदाय स्वास्थ्य कार्यकता महिला स्वयंसेविका नागरिक समाज र सामाजिक परिचालकहरु भन्ने बुझिन्छ।

उक्त नाराले सन् २०२० सम्मको लागि ९०ः९०ः९०ः अर्थात ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्युन भएको हुने लक्षयहलाई प्राप्त गर्ने टेवा मिल्ने बताइएको छ।  

विश्वमा सन् २०१८ को अन्त्यसम्म संसारभर ३ करोड ७९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ। नेपालको तथ्यांक हेर्ने हो भने २९ हजार ९४४ जनामा एचआईभी संक्रमण भएको अुनमान छ। ती मध्ये पुरुषको संख्या १७ हजार ७३२ र महिलाको संख्या १२ हजार २१२ रहेको छ।

नेपालका वयस्क १५ देखि ४९ वर्षको उमेर समूह जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१४ प्रतिशत रहेको छ। नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्ककको माध्यमबाट सरेको पाइएको छ। 

सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी ,पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेशीनेहरु र जेलका कैदीहरु नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरुमा पर्छन्। जसमध्ये सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर अरु जोखिममा रहेका समूह भन्दा उच्च छ। 

सन् २०१० देखि सन् २०१८ सम्ममा विश्वव्यापी १६ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४१ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ।

यसैगरी, सन् २००४ (सबैभन्दा धेरै एड्स सम्बन्धी मृत्यु भएको वर्ष) देखि सन् २०१८ सम्ममा एड्सको कारणले मृत्यु ५६ प्रतिशले घटेको छ। 

सन् २०१८ सम्मा कुल एचआइभी संक्रमित मध्ये ६२ प्रतिशत २ करोड ३३ लाख मात्र एआरभी उपचारमा छन्। यसै गरी सन् २०१० को तुलनामा स्न २०१८ सम्मा नेपालमा ५८ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ७१ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएकोे छ।

यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३८ प्रतिशतले घटेको छ। सन् २०१९ जुलाई सम्ममा नेपालको कुल एचआइभी संक्रमित मध्ये ६० प्रतिशत (१७ हजार ९८७) मात्र एआरभी उपचारमा छन्। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ। 

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचन भन्छन् 'यो खुसीको कुरा हो, नेपाल लगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण घट्दै छ।' उनले एआरभी औषधि उपचारमा समेत पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएका बताउँछन्।  

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग नियन्त्रण अस्तपालका एड्स तथा यौनरोग विशेषज्ञ डा अनुप बास्तोलाले समाजमा एचआइभी संक्रमितलाई घुलमिल गराउन सके, विभेद नगरे उनीहरुले पनि नयाँ प्रगतिहरु गर्न सक्ने बताए। उनी भन्छन् 'मैले जाँचेक बिरामीहरु अहिले इन्जिनियर तथा डाक्टर बनेका छन् त्यसैले स्याहार र हौसला आवश्यक छ।' 

एचआइभी र एड्स सम्बन्धी लाञ्छना तथा भेदभावमा अझै कमी ल्याउन सके मात्र्र सन् २०३० को अन्त्य सम्मा एड्सको महामारीलाई अन्त्य गर्न सकिन्छ ।साथ साथै एचआइभीको  बेलैमा उपचार हेरचाह र स्याहकार सेवा आवश्यक छ ।

एचआइभी लाग्नबाट कसरी बच्ने?
- हरेक पटककको यौनसम्पर्कमा कण्डमको सही तरिकाले प्रयोग गर्नुहोस्। 
- सूई तथा सिरिञ्ज प्रयोग गर्दा सधैँ नयाँ वा निर्मलीकरण गरेको मात्र प्रयोग गर्नुहोस्।  
- रगत लिँदा एचआइभी संक्रमण नभएको सुनिश्चिता गर्नुहोस्।
- हरेक गर्भवती महिलाले एचआइभी जाँच गराइ आफ्नो नवजात शिशुलाई एचआइभी सर्नबाट जोगाउनुहोस्। 
- एचाआइभी भएका व्यक्तिहरुले नियमित रुपमा एआरभी औषधि खाएमा आफ्नो यौन साथीलाई एचआइभी सर्नबाट बचाउन सकिन्छ।

एचआइभीको परिक्षण र उपचार सबै एचआइभी परिक्षण तथा परामर्श सेवा र ए आरटि केन्द्रबाट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँछ।  सरकारले ६० जिल्लामा कर्णाली जिल्ला बाहेकमा एआरटी सेन्टर रहेका छन् भने औषधीमा वार्षिक २४ करोड ५० लाख खर्चिने गरेको छ । साभार : स्वास्थ्य खबर