चिकित्सक संघको माग : दोषी ठहर भएपछि मात्रै डाक्टरलाई पक्राउ गर

चिकित्सक संघको माग : दोषी ठहर भएपछि मात्रै डाक्टरलाई पक्राउ गर

बिरामीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सकमाथि मुद्दा चलाउनअघि मुलुकी फौजदारी संहिताअनुसार छानबिन समिति गठन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।

यो घटना नयाँ मुलुकी फौजदारी संहिताअनुसार मेडिकल काउन्सिलले तोकेको इलाजसम्बन्धी कसुरसँग सम्बन्धित भएकाले मेडिकल काउन्सिलको सिफारिसमा विज्ञ सम्मिलित पाँच सदस्यीय समिति गठन गर्न र समितिले कसुर प्रमाणित भएपछि मात्रै मुद्दा चलाउन संघले ध्यानकर्षण गराएको हो।

संघका महासचिव लोचन कार्कीले प्रक्रिया पु¥याएर कारबाही अघि नबढेकोमा आफूहरुले आपत्ति जनाएको बताए। उनका अनुसार मुलुकी फौजदारी संहिताको इलाज सम्बन्धी कसुरमा रहेको कानूनी व्यवस्था अनुसार अघि बढ्न संघले माग गरेको हो।

स्वास्थ्य जाँच गराउन ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा डा.रोहितकुमार झा मंसिर ९ मा पक्राउ परेका थिए। मेडिसिटी अस्पताल प्रशासनले भने सोमबार नै झालाई कामबाट निकालिसकेको छ।