महाकाली अस्पतालमा सिकलसेलको उपचार सुरु

महाकाली अस्पतालमा सिकलसेलको उपचार सुरु

कञ्चनपुर : महाकाली अस्पतालमा थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार सुरु भएको छ । उपकरण जडानसँगै कर्मचारीलाई आवश्यक तालिम दिएर यसै महिनाबाट सिकलसेलको उपचार गरिएको महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए ।

हालसम्म दुई जना सिकलसेल एनिमियाका बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ । अब उपचारका लागि धनगढी लगायत जिल्ला बाहिर जानु नपर्ने बताइएको छ ।

यसअघि कञ्चनपुरका दुई सय ७० जना सिकलसेल एनिमियाका बिरामीले कैलालीको सेती अस्पतालमा उपचार गराउँदै आएका थिए । महाकाली अस्पतालमै सिकलसेलको उपचार सुरु भएपछि स्थानीय खुशी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले उपकरण खरिदका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । नेपाल सरकारले सिकलसेलका बिरामीलाई १ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क दिने व्यवस्था मिलाएको छ ।

थारु जातिमा मात्रै देखिने यस रोगको समयमै उपचार हुन नसक्दा कतिपयको ज्यानसमेत जाने गरेको छ । सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो । हाम्रो रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जीन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ ।