मूल्य बढेपछि प्याज ओसारपसारमै चुनौती, बाटोबाटै एक ट्रक प्याज लुटियो

मूल्य बढेपछि प्याज ओसारपसारमै चुनौती, बाटोबाटै एक ट्रक प्याज लुटियो

भारतमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि ओसारपसारमा समेत चुनौती बढेको छ ।प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेपछि ओसारपसारमा समेत चुनौती थपिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ४० टन प्याज बोकेर उत्तर प्रदेशको गोरखपुरतर्फ जाँदै गरेको ट्रक लुटेराहरुको निशानामा परेको हो । लुटेरा समूहले ट्रक नियन्त्रणमा लिइ सबै प्याज लगेका छन् । रित्तो ट्रक फेला परेको र आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

भारतको दैनिक अखबार हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको थियो । समयमा उक्त ट्रक नपुगेपछि खोजतलास सुरु गरिएको थियो । मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला परेको बताइएको छ ।

प्याजको मूल्य बढेका कारण लुटेराहरुले ट्रकबाट प्याज लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घटनामा उनीहरुको भूमिकाबारे खुलाइएको छैन । ट्रक फेला परेको क्षेत्रमा प्याजको बजारमूल्य प्रतिकिलो एक सय भारु रहेको बताइन्छ । 

यस्तै शैलीमा मंसिर पहिलो साता नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट डिजेल लिएर लहान पुगेको ट्याङ्कर लुटेराहरुले नियन्त्रणमा लिएर डिजेल चोरी गरेका थिए ।