टेण्डर हत्याउन आपुर्तिकर्ताले कर चुक्ता प्रमाण पत्र किर्ते गरेको खुलासा

टेण्डर हत्याउन आपुर्तिकर्ताले कर चुक्ता प्रमाण पत्र किर्ते गरेको खुलासा

धनगढी : औषधी आपुर्ति गर्ने टेण्डर हत्याउन एक ब्यवसायिक प्रतिष्ठानले कर चुक्ता प्रमाण पत्र किर्ते गरेको सूचना पाएपछि आन्तरिक राजश्व कार्यालय धनगढीको टोलीले गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीद प्रक्रियाका कागजपत्रहरु नियन्त्रणमा लिएको छ । 

औषधी आपुर्तिकर्ता धनगढीको अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्रको नक्कली चिठी पेश गर्दै आपुर्तिका लागि टेण्डर भरेको सूचनाका आधारमा कार्यालयले अध्ययनका लागि कागजपत्रहरु नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेका थिए । सो पत्रमा हस्ताक्षर गर्ने कर अधिकृत रामबोली साम्बाहाम्फे २०७४ असोजमै धनगढीबाट सरुवा भइसक्नुभएको थियो ।

सरुवा भएका कर अधिकृतले अघिल्लो आर्थिक बर्षमा हस्ताक्षर गरेको पत्रमा स्क्यानिङ गरि मिति फरक पारेर किर्ते गरी कर चुक्ता भएको नक्कली प्रमाण पत्र पेश गरिएको छ । सोही आधारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । 

नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरिएको बिषयमा आन्तरिक राजश्व कार्यालयले सोधपुछ गरेपछि आज बिहान आँखा अस्पताल पुगेर अमित मेडिसिनका प्रतिनिधिले ढिलो गरी अर्को मितिमान कर चुक्ता गरेको प्रमाण पत्र पेश गरेको समाचार स्रोतले बतायो । 

अमित मेडिसिनले पेश गरेको नक्कली कर चुक्ता प्रमाण पत्र धनगढी खबरसित सुरक्षित रहेको छ । आन्तरिक राजश्व कार्यालयका एक कर्मचारीले गेटा आँखा अस्पतालमा अमित मेडिसिनले पेश गरेका कागज आफुहरुले लिएको बताउनुभयो ।

उहाँले कर चुक्ताको प्रमाण पत्र किर्ते गरेको प्रमाणित भए अमित मेडिसिन बिरुद्ध सरकारी कागज किर्ते कसुरमा मुद्धा चलाइने बताउनुभयो ।