बाजुराका बेपत्ता पत्रकार खड्काको सामान आफन्तलाई बुझाइयो

बाजुराका बेपत्ता पत्रकार खड्काको सामान आफन्तलाई बुझाइयो

बाजुरा : १४ महिनादेखि बेपत्ता पत्रकार तेजु खड्काको सामान आफन्तलाई बुझाइएको छ। उनको परिचयपत्र, पर्स, मोबाइल, झोलालगायतका सामान बाजुरा प्रहरीले आफन्तलाई बुझाएको हो। परिचय खुल्ने सामान भेटिएपछि बुधबार बाजुरा सदरमुकाम मार्तडी पुगेका आफन्तलाई उक्त सामान बुझाइएको बाजुरा प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।

गत वर्ष भदौ ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट सम्पर्कविहीन भएका खड्काको बाजुराको बूढीनन्दा नगरपालिका-३ मा पर्ने लौरीबिनायकको जंगलमा मंसिर २ गते परिचय खुल्ने सामग्री र कंकाल भेटिएको थियो।

आफन्तलाई सामग्री बुझाइए पनि कंकाल भने विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी प्रहरीले गरेको छ। आफन्तले उक्त कंकाल बेपत्ता खड्काको हो होइन पत्ता नलागेसम्म नबुझ्ने बताएपछि डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालमा पठाउन लागिएको प्रहरीको भनाइ छ।

डिएनएका लागि बेपत्ता पत्रकार खड्काकी आमा मन्दरी देवी खड्काको रगतको नमुना लिइएको छ।उनकी आमा खड्कासहित बाजुरा गएका आफन्तले सत्यतथ्य छानबिनका लागि प्रहरीलाई जाहेरीसमेत दिएको डिएसपी भाटले बताए।

उनी बेपत्ता भएदेखि आफन्त, पत्रकार महासंघ, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लामो समयसम्म खोजी गरेका थिए। उनको परिचय खुल्ने सामग्री र कंकाल भेटिपछि मृत्यु भएको आशंका गरिएको छ।