डडेल्धुराको परशुराम नगरपालिकाका २ वडामा मलेरिया रोगका बिरामी फेला

डडेल्धुराको परशुराम नगरपालिकाका २ वडामा मलेरिया रोगका बिरामी फेला

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका २ वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। नपरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर जचाँउन आएका व्यक्तिहरूको रगत परिक्षण गर्दा औलो भएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जयबहादुर धामीले जानकारी दिए।

२ हप्ताअगाडि साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरूमा मलेरियाका लक्षण देखा परेका उनको भनाइ छ। दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगबाट हालसम्म १० जना बिरामीहरू संक्रमित भइ निःशुल्क औषधि सेवन गरिसकेका छन्। विशेष गरेर गत २ हप्ताअघि पहिलोपल्ट वडा नम्बर–६ स्थित रामपुर गाउँका एकजना स्थानीय संक्रमित भएका थिए।

मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले सोबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकी प्रमुख धामीले जानकारी दिए। पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी (सर्च) गरिरहेको छ।

सर्चका साथसाथै हाल स्थानीयलाई जनचेतना फैलाइरहेको स्वास्थ्य प्रमुख धामीको भनाइ छ। औलो प्रभावित वडाहरूमा झुल वितरण र लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने काम केही दिनमै सुरु गरिने स्वास्थ्य कार्यालय, डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।