नेपालमा मन्त्री हेरफेर, उपप्रधानमन्त्री यादव भाजपाको कार्यालयमा

नेपालमा मन्त्री हेरफेर, उपप्रधानमन्त्री यादव भाजपाको कार्यालयमा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि तनावमा रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिल्लीमा राजनीतिक भेटघाट तीव्र पारेका छन्।  करिब तीन महिनादेखि बोलचाल बन्द भएपछि प्रधानमन्त्री ओलीले यादवलाई मन्त्रीबाट हटाउने जनाऊ तीन साताअघि नै दिइसकेका थिए। 

तर यहीबीचमा यादव सोमबार भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका थिए। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन भन्दै दिल्लीतर्फ लागेका थिए।  पार्टीको केन्द्रीय समिति बैठक सकिएलगत्तै उनी दिल्लीतर्फ लागेका उनले राजनीतिक भेटघाट तीव्र बनाएका हुन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्थापनसम्बन्धी तीन दिने कार्यक्रमा भाग लिन भारततर्फ लागेका उनी आगामी शुक्रबारसम्म भारतमै रहने छन्।  पाँच दिनसम्म दिल्लीमा रहँदा उनले त्यहाँ राजनीतिक भेटघाट थालेका हुन। यही क्रममा उनले बुधबार भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटघाट गरेका छन्। 

माधवकै कार्यालयमा भेटघाट गरिरहेको तस्बिर बुधबार सार्वजनिक भएको छ। असन्तुष्ट रहेका ओलीले मन्त्री हेरफेरसँगै यादवलाई स्वास्थ्यबाट विनाविभागीमा पठाउने चर्चाका बीच भारतको सत्तारुढ दलका नेताहरुसँग यादवले भेट तीव्र पारेका हुन्। 

संविधान संशोधनको विषयलाई लिएर यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बोलचाल बन्द रहेको अवस्था छ। ओलीले मन्त्री पदमै बसेर सरकारको आलोचना बन्द गर्न नत्र बाहिरिन भन्दै यसअघि नै यादवलाई कडा सन्देश दिएका थिए।  तर केही दिनअघि बसेको समाजवादी पार्टीको बैठकले सरकार छाड्ने या नछाड्ने निर्णय यादवलाई नै दिएको थियो।