बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका लागि सुरु भयो नेकपाको बैठक, खनाल र पोखरेल अनुपस्थित !

बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका लागि सुरु भयो नेकपाको बैठक, खनाल र पोखरेल अनुपस्थित !

नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

आजको बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए । 

त्यस्तै बुधबार बिहान अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिमण्डलमा समावेश गरिने नाम र बाहिरिने नामबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सिफारिस नाम राष्ट्रपतिकोमा लगिएको थियो ।