बैतडीको एक विद्यालयमा सेनेटरी प्याड मेसिन जडान

बैतडीको एक विद्यालयमा सेनेटरी प्याड मेसिन जडान

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका–३ महादेव मावि पङसेरामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान भएको छ । महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताउनुभयो ।

सेनेटरी प्याड प्रयोग गर्ने महिलाले मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जल श्रोत व्यवस्थापन परियोजनाका जल श्रोत अधिकृत पूर्णबहादुर चन्दले बताउनुभयो । डिलाशैनी गाउँपालिका, ग्रामीण जल श्रोत व्यवस्थापन परियोजना र अनिरुद्र ग्रामीण सुधार केन्द्रको संयुक्त लगानीमा मेसिन जडान गरिएको हो ।

मेसिन जडान गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी रानाले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला किशोरीहरूले बिद्यालय छाड्नपर्ने बाध्यता हट्ने बताउनुभयो । सेनेटरी प्याडको व्यवस्था नहुनु, उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेको विद्यालयकी प्रधानाध्यापक आशा पालले बताउनुभयो ।

मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकाहरूलाई स्मार्ट कार्ड पनि वितरण गरिएको छ । बैतडीमा पहिलोपटक सेनेटरी प्याड मेसिन जडान गरिएको हो । विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन् ।