वैदेशिक रोजगारीका क्रममा श्रम स्वीकृति लिँदा नक्कली बनाई युवा ठग्ने क्रियाकलापलाई रोक्न सरकारले ई–स्टीकर लागू गरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने गरी पासपोर्टमा टाँस्ने स्टीकरको सट्टा इ–स्टीकर दिने भएको हो ।
विभागका महानिर्देशक भिष्मकुमार भुसालले मंगलबारदेखि व्यक्तिगततर्फ र रिगलाइजेशनमा वैदेशिक रोजगारीमा जाने युवाको पासपोर्टमा ई–स्टीकर लागू गरिएको बताए ।
“इ–स्टीकर प्रणालीको विकासपछि दलालहरुले नक्कली स्टीकर बनाई भारतको बाटो सोझासाझा कामदारलाई विदेश पु¥याउने, पासपोर्ट फोहोर हुने देखि १० वर्षअघि साधारण कामदार भिसामा विदेश गएर हाल म्यानेजर भएकाहरुले पनि पुरानाको स्टीकर देखाएर हिँड्न पर्ने बाध्यताको अन्त्य भएको छ,” महानिर्देशक भुसालले भने, “त्यसैगरी स्टीकर छपाईमा खर्च हुने लाखौं रुपैयाँ बचत हुने छ ।”
भूसालले आफ्नो इमेलबाट चाहिएको बेला स्टीकर प्रिन्ट गरेर निकाल्न सकिने र श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टीकर प्राप्त गर्न सकिने बताए ।