कैद भुक्तान गरी फर्किए पत्रकार भण्डारी

कैद भुक्तान गरी फर्किए पत्रकार भण्डारी


अदालतको अबहेलना सम्बन्धी मुद्धामा सजाय तोकिएपछि कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घण्टा जेल बसेर फर्किनुभएको छ ।

भगतपुर कारागारमा एक घण्टा सजाय काटेर फकिएपछि पत्रकार भण्डारीले अदालतको आदेशलाई आफुले सम्मान गर्ने बताउँदै आफुलाई उपल्लो अदालतमा जाने मौका समेत नदिई अदालतले प्रकाउ गर्न निर्देशन दिएकोले यस्तो आदेश बिरुद्ध न्यायपरिषद सम्म पुग्ने बताउनुभएको छ । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलना सम्बन्धी मुद्दा परेको थियो ।

सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उहाँलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो । कारागार जानु अघि पत्रकार भण्डारीले कञ्चनपुर जिल्ला अदालत पुगेर एक रुपैया जरिवाना तिर्नुका साथै कैद सजाय पाएको पत्र बुझ्नुभएको थियो । अदालतको पत्र बुझेपछि पत्रकार भण्डारी सहयोगीको मोटरसाइकल चढेर आफै कारागार पुग्नुभएको थियो ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो ।  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा जथाभावी समाचार लेखेर अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै कञ्चनपुर जिल्ला बारले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उहाँलाई एक घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो ।