मरेको कुखुराको मासु खाँदा बैतडीमा एक जनाको मृत्यु, ९ जना बिरामी

मरेको कुखुराको मासु खाँदा बैतडीमा एक जनाको मृत्यु, ९ जना बिरामी

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका २ जरसौंमा मरेको कुखुराको मासु खाँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् । शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए ।

आइतबारदेखि परिवारका १० जना बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिनुभयो । बिरामी परेका मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको उहाँले बताउनुभयो । मासु खाएपछि बिरामी भएकामा बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएका पन्तले बताउनुभयो ।

बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिएपनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको पन्तको भनाई छ । महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरका अनुसार बिरामीलाई घरमै गएर औषधि दिँदा पनि बचाउन सकिएन।

बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् । ७० वर्षीय पार्वतीबाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको छ ।