विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

नेपालले आज विश्वकप छनोट अन्तर्गतको 'होम गेम' कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला लिने दाउमा हुनेछ। खेल भुटानको चाङलिमिथाङ स्टेडियममा आज दिउँसो पौने ३ बजे शुरु हुनेछ। दशरथ रंगशाला निर्माण भइनसकेकाले नेपालको 'होम गेम' भुटानमा सरेको थियो।

फिफा वरीयतामा पनि कुवेत नेपाल भन्दा अगाडि रहेको मुलुक हो। कुनै समय विश्वकपमा समेत सहभागिता जनाइसकेको कुवेत बलियो टोली हो। समूह चरणमा यस अघिको खेलमा कुवेतले चाइनिज ताइपेइलाई ९–० को फराकिलो अन्तरले हराएको थियो।

खेलको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका कप्तान किरण चेम्जोङले कुवेतसँग 'टफ फाइट' का लागि तयार भएको बताएका थिए। त्यस्तै प्रशिक्षक योहान कालिनले महत्वपूर्ण खेल भएको भन्दै नेपालले राम्रो प्रदर्शन गर्ने बताए।

'यो हाम्रो लागि महत्वपूर्ण खेल हो। हामी कडा टक्कर दिने छौं। मैले यहाँ उपलब्ध खेलाडीहरुमा फोकस गरेको छु। खेलाडीहरु पनि राम्रो मनोविज्ञानमा रहेकाले राम्रो प्रदर्शन गर्नेछन्,' कालिनले भने।

कुवेतले खेलमा राम्रो प्रदर्शन गरिरहे पनि आफूहरु आफ्नो खेलमा आत्मविश्वास रहेको उनले बताए। त्यस्तै कुवेतका मुख्य प्रशिक्षक थमेर इनदले राम्रो खेल खेलेर ३ अंक जोड्ने बताएका छन्। 'हामी राम्रो खेल खेलेर ३ अंक जोड्ने छौं। हामीले नेपाललाई हल्का रुपमा लिएका छैनौं। नेपाल कमजोर टिम होइन। यहाँको वातावरणले पनि नेपाललाई पक्कै पनि सहयोग गर्नेछ,' थमेरले भनेका छन्।

यद्यपि नेपालका पहिलो रोजाइका मुख्य चार खेलाडी अनुशासनको कारबाहीमा परेसँगै नेपालको खेल प्रभावित हुने देखिन्छ। खेलाडी विदाइका दिन अनुशासन तोडेको भन्दै एन्फाले विमल घर्ती मगर, अञ्जान विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कार्वाही गर्दै टिमबाट हटाएको थियो।

कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह 'बी' मा छ। नेपालले समूह 'बी' मा सबै 'अवे गेम' खेलिसकेको छ। र, 'होम गेम' दशरथ रंगशाला गराउने तय भएको भएपनि रंगशाल पुननिर्माण भइनसकेको भन्दै एसियन फुटबल फेडेरेसनल (एएफसी)ले खेल अन्यत्रै 'न्युट्रल भेन्यु'मा सार्न निर्देशन दिएको थियो।

एएफसीको निर्देशनपछि एन्फाले नेपालको 'होम गेम' भुटानमा हुनुपर्ने प्रस्ताव गरेको थियो। एन्फाको प्रस्तावलाई कुवेतको लविङको बावजुत एएफसीले स्वीकृत गरेको थियो।

नेपाल रहेको समूहमा ४ खेल खेलको अस्ट्रेलिया शतप्रतिशत जित निकाल्दै १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ४ खेलमा २ जित १ बराबरी र १ हार ब्यहोरेका समान कुवेत र जोर्डन क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। कुवेत गोल अन्तरका आधारमा जोर्डन भन्दा अगाडि रहेको हो।

त्यस्तै ४ खेलमा १ जित र ३ हार ब्यहोरेको नेपाल तालिकाको चौथो स्थानमा छ। त्यस्तै ४ खेल खेलेर जितबिहीन चाइनिज ताइपेइ तालिकाको पुछारमा छ। समूह 'बी' शीर्ष २ मा अटाउन कुवेत, अस्ट्रेलिया र जोर्डनको उच्च प्रतिस्पर्धा छ। त्यसमा पनि समान अंक जोडेका कुवेत र जोर्डनको प्रतिस्पर्धा अझ धेरै छ। अत: कुवेतका लागि नेपालसँगको खेल धेरै महत्वपुर्ण छ।