बंगलादेशसँग नेपालको हार, ब्याटिङ र बलिङ दुबैमा कमजोर

बंगलादेशसँग नेपालको हार, ब्याटिङ र बलिङ दुबैमा कमजोर

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १३९ रनको झिनो लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३८ रनको योगफल बनायो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन जोडे। यसअघि भएका दुई खेलमा शून्य रनमै आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने करण केसीले १८ रनको योगदान गरे। अन्य ब्याट्स्म्यानले भने राम्रो योगफल तयार गर्न सकेनन्।

ओपनिङमा अगाडिका दुई खेलभन्दा टिकेर खेले पनि ओपनर कुशल भुर्तेल १० रनमा आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। आठौं क्रममा आएका सोमपाल र नवौं क्रममा आएका करणले नेपालको योगफलमा केही सुधार गरे पनि सन्तोषजनक भने हुन सकेन।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशका सुमोन खान र मिन्हादुल अफ्रिदीले ३/३ विकेट लिए। त्यस्तै तनवीर इस्लाम र महेदी हसनले २/२ विकेट हात पारे।

जवाफमा दोस्रो ब्याटिङ गर्न आएको बंगादेशका लागि कप्तान नजमुल हसन शान्तोले अर्धशतक हिर्काए। नटआउट रहेका उनले २ छक्का र ६ चौकाको मद्दतमा ५९ रन जोडे। त्यस्तै ओपनर मोहमद नइमले ४५ रन जोडे।

नेपालका लागि करण केसी र शुसन भारीले १/१ विकेट लिए। बंगलादेशसँगको हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशले भने शतप्रतिशत नतिजा निकाल्दै अर्को चरण प्रवेश गरेको छ।