छिमेकीलाई प्रधानमन्त्री ओलीकाे आग्रह- हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस् !

छिमेकीलाई प्रधानमन्त्री ओलीकाे आग्रह- हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस् !

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाण्डौमा सम्बोधन गर्दे उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता जनाउनुभएको हो ।

अघिल्लो सताब्दी देखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उहाँले सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको भए पनि वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पार्नुभयो ।

 उहाँले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देश भक्त सरकार हो । त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन ।

हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ ।’ 

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाव नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले संवाद मार्फत सीमासम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उहाँले नक्सा नभइ भूमि फिर्ता लिने विषय महत्वपूर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’

नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले  चासो देखाएर ऐक्यबद्धता जनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । पछिल्लो समय राजनीतिक पूर्वाग्रह र आत्मकेन्द्रित भएर सरकारको विरोध हुने गरेको भन्दै उहाँले दुवै ढंगका विरोधको औचित्य नरहेको बताउनुभयो ।