बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

बैतडी : यही मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।  

मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।

मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा–पम्प्लेट र नमूना मतपत्रसहित घरदैलो कार्यक्रम गरिने जनाइएको छ । सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर उनीहरूले मतदाता शिक्षा प्रदान गर्ने जनाइएको छ । 

मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व, मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने भएका छन् । बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।