कञ्चनपुरमा प्रहरीले पीडित कुटपिट गरेको विरोधमा प्रहरी कार्यालय घेराउ

कञ्चनपुरमा प्रहरीले पीडित कुटपिट गरेको विरोधमा प्रहरी कार्यालय घेराउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा शनिबार राति ट्रक र मोटरसाईकल ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणिमा ना ३ ख १४२४ नम्बरको ट्रकसँग नम्बर प्लेट नराखिएको (अनटेन्ट) मोटरसाईकल ठोक्किँदा दुई युवकको मृत्यु भएको हो । 

ठक्करबाट घाइते भएका कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २२ वर्षीय शुनिल रानाको उपचारको क्रममा सेती अस्पताल धनगढीमा मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् । मृतकका आफन्त उमेश रानाले ट्रकसँग ठोकिएका दुवै जनाको अस्पतालमा शनिबार राति नै मृत्यु भएको बताए । ईलाका प्रहरी कार्यालय झलारीले ट्रक चालकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी इन्चार्ज नैन सिह साउदले चालक नरेन्द्र बोहरासहित ट्रक नियन्त्रणा लिएर अनुसन्धान अघि थालिएको बताए । साउदले रोकिएको ट्रकमा ठोक्किँदा उनीहरुको मृत्यु भएको बताएका छन् । 

मृतकका आफन्तले आफुलाई ‘डिआइजी’ बताउने प्रहरीले पीडित पक्षमाथि कुटपिट गरेको भन्दै आइतबार इलाका प्रहरी कार्यालय झलारी घेराउ गरेका छन् । उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग गर्दै ईप्रका झलारी घेराउ गरेका हुन् । पीडित पक्षलाई सान्त्वना दिनुको सट्टा मदिरा सेवन गरी आएका प्रहरीले आफुमाथि कुटपिट गरेको उनीहरुको गुनासो छ । 

मृतक रानाका बाबु भक्ता रानाले छोरा गुमाएको पीडासँगै प्रहरीको मुक्का र लाठी प्रहार सहनुपरेको बताउँछन् । उनले आफुसहित रामचन्द्र राना र उमेश रानालाई समेत प्रहरीले कुटपिट गरेको बताए । ‘घटना कञ्चनपुरमा भयो, उनले भने, ‘कैलालीबाट आएका प्रहरीले हामी माथि बिना कारण कुटपिट गरे ।’ 

पीडित पक्षले घटनास्थलमा बरामद गरेकाे माेबाइल प्रहरी अधिकारीको भएको पृष्टी भएको छ । उक्त नम्बरको मोबाइल पीडित पक्षले इप्रका झलारीमा कागज गरेर बुझाएका छन् । पीडित पक्षले प्रहरीमा बुझाएको उक्त नम्बर तत्तकालिन अञ्चल प्रहरी कार्यालय कैलालीका एसएसपी देव बहादुर बोगटीको भएको झलारी प्रहरीले पुष्टी गरेको छ । 

इप्रका झलारीका इन्चार्ज नैनसिह साउदले महेन्द्रनगरदेखि धनगढी गइरहेका एसएसपी बोगटी घटनास्थलमा गएको तर कुटपिट नभई सामान्य विवाद भएको बताए । ‘पीडित पक्षले प्रहरीसँग विवाद गर्दै थिए, ‘उनले भने, ‘एसएसपी सापले सम्झाउन खोज्दा उनीमाथि नै भिडले झम्टिन खोजेको थियो ।’

एसएसपी बोगटीले कसैलाई पनि हातपात नगरेको दावि गर्दै उनले समान्य विवाद मात्र भएको बताए । एसएसपी बोगटीको टोलीलाई पीडित पक्षले मदिरा सेवन गरेर कुटपिट गरेको आरोप लगाएपनि प्रहरीले त्यो पुष्टी गरेको छैन् । 

ट्रक मालिकलाई बोलाएर पीडित पक्षसँग छलफल गर्ने र घटनाको थप अनुसन्धान अघि बढाउने इप्रका झलारीका इन्चार्ज साउदले बताए । तर, पीडित पक्ष भने उक्त मोबाइलवाला प्रहरी आएपछि मात्रै वार्ता गर्ने भन्दै तबसम्म शव नबुझ्ने चेतावनी दिएका छन् । साभार : नयाँ पत्रिका