बैतडीमा तीन वडाध्यक्ष पदमा आठ उम्मेदवार

बैतडीमा तीन वडाध्यक्ष पदमा आठ उम्मेदवार

बैतडी : बैतडीको तीन स्थानीय तहमा हुने उपनिर्वाचनमा आठजना मैदानमा उत्रिएका छन्। मंसिर १४ मा हुने दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४, सुर्नया गाउँपालिकाको वडा नम्बर १ र पुर्चाैडी नगरपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। 

दोगडाकेदार–४ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा (संयुक्त)बाट देवसिंह खत्री चुनावी मैदानमा छन्। सुर्नया–१ को वडाध्यक्षको पदमा नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

पुर्चौडी–४ को वडाध्यक्षमा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले चुनावी मैदानमा उत्रिएका छन्।

तीनवटा वडामा चार हजारभन्दा बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने तीन वडामा चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। 

जसमा दोगडाकेदार–४ मा एक हजार ८०८ सुर्नया–१ मा ६१९ र पुर्चौडी–४ मा १ हजार ९०९ मतदाता रहेको निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए। निर्वाचन हुने तीनवटा वडामा पाँच मतदान केन्द्र तोकिएका छन्।