आज विश्व मधुमेह दिवस, किन मनाइन्छ, के हो मधुमेह, कसरी बच्ने ?

आज विश्व मधुमेह दिवस, किन मनाइन्छ, के हो मधुमेह, कसरी बच्ने ?

इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् १९९१ देखि आज अर्थात् १४ नोभेम्बरमा विश्वभर विश्व डायबेटिज दिवसका रुपमा मनाउन थालेका हुन् । यही दिन डाक्टर फ्रेडरिक ग्रान्टको जन्म भएको थियो । 

उनले चाल्र्स बेस्टसँग मिलेर एक सय वर्ष पहिले इन्सुलिनको खोजी गरेका थिए । त्यसैले यो दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउन थालिएको हो । 

इन्टरनेसनल डायबेटिज फेडेरेसनका अनुसार विश्वभर लगभग ४२५ करोड भन्दा धेरै मानिसहरु मधुमेहबाट पीडित छन् । मधुमेहका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा बिशेष ध्यान पुर्याउनु पर्छ । 

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ । उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्छ । मानव शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दै गएमा पनि मधुमेह हुने संभावना हुन्छ । गर्भवती महिलालाई मधुमेहको समस्या छ भने बच्चामा मधुमेह देखिने खतरा धेरै हुन्छ । मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ । 

३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पुर्याउने खतरा रहन्छ । 

मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाँहीँ इन्सुलिनको पनि आवश्यकता पर्छ । 

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु,  रुचि बढ्नु वा भोक धेरै लाग्नु,  बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु,  हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण हुन् । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गौला, दिमाग र रगत तथा स्नायुका नसामा असर पुर्याउन नसक्ने चिकित्सकको भनाइ छ । 

बीस वर्षदेखि मधुमेहका बिरामी उपचार गर्दै आएका वरिष्ठ फिजिसियन प्रा। डा। विजय पौडेल शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, स्वास्थ्यवद्र्धक ग्लुकोज, चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान सुझाव दिन्छन् । 

उचाइअनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उनले सल्लाह दिए । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।