खप्तडमा पर्यटकका लागि आवास गृह निर्माण हुने

खप्तडमा पर्यटकका लागि आवास गृह निर्माण हुने

डोटी : सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुईओटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकले खाने र बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले ५ करोड रुपैयाँ लागतमा १२५ शøयाका दुईओटा आवास गृह निर्माण गर्न लागेको हो ।

पर्यटकलाई वास बस्न समस्या भयो भन्ने गुनासो आएपछि पर्यटन वर्ष २०२० लाई लक्षित गरी दुईओटा सुविधा सम्पन्न आवास गृह बनाउने तयारी गरिएको निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले बताए । उनका अनुसार खप्तड क्षेत्रमा १०० शøया र खप्तड क्षेत्र जाने बीचपानीमा २५ शøयाको आवास गृह बनाउने तयारी भएको छ ।

आवासका लागि निकुञ्जले लागत तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण विभागमा पठाइसकेको बताइएको छ । चालू आर्थिक वर्षमै भवन निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको निकुञ्जले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको पहिलो ३ महीनामा करीब ४०० नेपाली र नौ जना विदेशी पर्यटक खप्तड क्षेत्रको भ्रमणमा आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।