‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै

साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

घिमिरेकाे कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । 

विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा/संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् । जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुनुहुन्छ । चलचित्रको प्रिमियर शाे अष्ट्रियाको भियनामा गरिसकिएको छ । 

साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बीपी मेमोरियल अस्पताल र काठमाण्डौको रातो बङ्गलामा चलचित्र छायाङ्कन गरिएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको संघर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताउनुभयो । 

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धाचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे, पिताका भूमिकामा किशन सुनार र मातामा उमा गिरी हुनुहुुन्छ । अन्य कलाकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढी हुनुहुन्छ ।  यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतीक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गर्नुभएको छ । 

शारीरिक तथा मानसिक रूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरूलाई समाजले अवहेलना गर्नुहुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ । शारीरिक रूपमा असामान्य मानिसको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दागर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञान व्यावहारिकरूपमा समेटिएको चलचित्रको लागत झण्डै ८० लाख रुपैयाँ छ ।

विक्रम संवत २०३७ असार २१  धनकुटाको कचिंडेमा बुबा कृष्णबहादुर  र आमा आशादेवीकी छोरीका रूपमा जन्मिनुभएकी घिमिरेले रचना गर्नुभएका कृतिमा ‘संकल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ र ‘क्वाँटी’  कविता संग्रह छन् ।  उहाँले प्राप्त गरेका पुरस्कारमा राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ छन् । 
 
मस्तिष्क पक्षाघातले गर्दा हातगोडा लुला भएका उहाँले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिनुभएको छैन र गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्रेरणादायी बनेको छ ।