मिसावट गर्ने चारवटा पसलको मिठाई जफत

मिसावट गर्ने चारवटा पसलको मिठाई जफत


धनगढी–नेपालीहरुको दशैं पछिको महत्वपूर्ण पर्व तिहार शुरु भइसकेको छ । तिहारमा सबैभन्दा धेरै मिठाईको उपभोग हुने गरेको छ । धनगढीमा मात्रै हरेक बर्ष तिहारको समयमा ५० क्वीन्टलको हाराहारीमा मिठाई बिक्ने गरेको ब्यवसायीहरुले बताएका छन् । नेपालमा मिठाई बनाउन सम्भव नहुने भएपछि भारतबाट किनेर ल्याएर समेत धनगढीका मिठाई पसलहरुले बिक्री गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । मिठाई बनाउँदा शत प्रतिशत खोया मात्रै हुनुपर्ने भएपनि खोयामा पिठो मिसाएर मिठाई बनाएर उपभोक्ता ठगी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले धनगढीको बजारमा मिसावट सहित अन्य समस्याबारे अनुगमन शुरु गरेको छ । कार्यालयले मंगलबार र बुधबार गरी धनगढीको मुख्य बजारमा २० वटा मिठाई पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा शतप्रतिशत दूधबाट तयार गरिएको खोयाबाट बननुपर्ने मिल्केकमा पिठो समेत मिसाइएको पाइएको र केही होटलहरुमा सरसफाईको अवस्था ठीक नरहेको खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले बताउनुभयो । मंगलबार देखि शुरु गरिएको अनुगमनमा मिठाई पसल तथा मिठाई बनाएर बेच्ने डेरी फार्महरु पनि हेरिएको थियो । तिहारको समयमा नेपाली समाजमा मिठाई बढी बिक्ने भएका कारण मौका छोपेर मिसावट गरि बिक्री बितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्य अनु्सन्धान अधिकृतको नेतृत्वमा अनुगमन टोली खटाइएको र टोलीले हरेक पसलबाट नमुना संकलन गरी कार्यालयको प्रयोगशालामा परीक्षण गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बरिष्ठ खाद्य अनुसनधान अधिकृत सुमन धितालले बताउनुभयो । अनुगमनका क्रममा संकलित नमुनामा पिठो मिसिएको पाएपछि कार्यालयले बसपार्कको भद्रपुर स्वीट हाउस, अदालत रोडको मधुवन स्वीट हाउस, सदाबहार स्वीट एण्ड डेरी पुष्पलाल चोक, नवीन होटल, जुगेडा रोड क्याम्पस चोक अनुकल डेरी मोती चोकमा पिठो मिसिएको मिल्केक पाइएपछि जफत गरेको छ । मिसावट भेटिएपछि जफत गरिएको कार्यालय प्रमुख धितालले बताउनुभयो । 
भारतबाट मिठाई ल्याइरहेको अवस्थामा प्रहरीले केही दिन दुई जनालाई पक्राउ गरेपछि उनीहरुको बयानलाई आधार बनाएर बजार अनुगमन तीब्र पारिएको छ । उनीहरुले धनगढीका अधिकांश मिठाई पसलमा तिहारका बेला भारतबाट अवैध रुपमा मिठाई आउने गरेको बयान दिएको बताइएको छ ।