निजी मेडिकल कलेजको ‘धम्की’ पछि काउन्सिलले बढायो एमबिबिएसको सिट संख्या

निजी मेडिकल कलेजको ‘धम्की’ पछि काउन्सिलले बढायो एमबिबिएसको सिट संख्या

नेपाल मेडिकल काउन्सिलले दुइटा मेडिकल कलेजको सिट संख्या बढाएको छ।

काठमाडौं स्कुल अफ मेडिसिन धुलिखेलको एमबिबिएस सिट संख्या ८५ तोकिएको छ। गत वर्ष जम्मा ७५ थियो। देवदह मेडिकल कलेजको पनि सिट संख्या बढाइएको छ ।

गत वर्ष ४० रहेको देवदहको सिटसंख्या ५० पुर्‍याइएको छ। अरू मेडिकल कलेजलाई गत वर्षकै सिट संख्या दिएर आइतबार काउन्सिलले काठमाडौं स्कुल अफ मेडिसिन र देवदहको भने सिट संख्या बढाएको हो।

निजी मेडिकल कलेज सञ्चालकहरूको संस्था एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले ‘धम्की’ दिएपछि नेपाल मेडिकल काउन्सिलले सिट संख्या निर्धारण गरेको छ।


एसोसिएसनका अध्यक्ष बसरूद्दिन अन्सारीले पूर्वाधार पुगेका मेडिकल कलेजमा सिट संख्या बृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको बताएका थिए। सिट संख्या बृद्धिलगायत माग सरकारले पूरा नगरे एमबिबिएस र बिडिएसमा नयाँ विद्यार्थी भर्ना नगर्ने उनीहरूको धम्की थियो।

चिकित्सा शिक्षा आयोगको आग्रहपछि काउन्सिलले शैक्षिक सत्र २०७६र०७७ का लागि आइतबार चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट संख्या निर्धारण गरेको हो।


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजका सिट संख्या निर्धारण भएका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान एमबिबीएस १०० र  बिडीएस ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबीएस ६५, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल एमबिबीएस ८५ र  बिडीएस ५०, नोबेल मेडिकल कलेज एमबिबीएस १०० र  बिडीएस ३५ सिट प्राप्त गरेका छन्।

विराट मेडिकल कलेज एमबिबीएस ७५, काठमाडौँ मेडिकल कलेज एमबिबीएस १०० र  बिडीएस ५०, नेपाल मेडिकल कलेज एमबिबीएस १०० र  बिडीएस ५०, कलेज अफ मेडिकल साइन्सेस  एमबिबीएस १०० र  बिडीएस ५० र लुम्बिनी मेडिकल कलेज एमबिबीएस १००, नेपालगञ्ज मेडिकल कलेज एमबिबीएस १००, मनिपाल मेडिकल कलेज एमबिबीएस १००, देवदह मेडिकल कलेज एमबिबीएस ५० र कान्तिपुर डेन्टल कलेज बिडीएस ५० को सिट संख्या निर्धारण भएको हो।